अचार र धूप–बत्ती बनाउने तालिम सम्पन्न, म्याग्देका ३५ महिला उद्यमशीलतातर्फ अग्रसर

अचार र धूप–बत्ती बनाउने तालिम सम्पन्न, म्याग्देका ३५ महिला उद्यमशीलतातर्फ अग्रसर

म्याग्दे गाउँपालिका–४ मनहरीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको सीपमूलक उद्यम विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
वडा कार्यालयको सहजीकरणमा सञ्चालन भएको उक्त तालिममा ३५ जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने रहेको थियो।
तालिममा नेपाली कागज प्रयोग गरी पूजाआजामा प्रयोग हुने सुगन्धित धूप, बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइएको थियो। साथै करेला, आँप, कागती, खुर्सानीलगायतका भेज अचार तथा कुखुरा, बफ र बँदेलको मासुबाट तयार गरिने ननभेज अचार उत्पादनसम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहभागी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। उहाँले सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर उद्यमी बन्न आग्रह गर्दै गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले महिलाहरूको सक्रिय सहभागिताले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले तालिमबाट प्राप्त सीपलाई उद्यममा रूपान्तरण गर्न सहभागीहरूलाई आग्रह गर्दै उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
आर्थिक विकास शाखा प्रमुख तथा मेडपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेले तालिमको उद्देश्य महिलाहरूलाई सीपमार्फत उद्यमशील बनाउँदै आत्मनिर्भर बनाउनु रहेको बताउनुभयो। उहाँले स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन तथा उद्यम विकासको वातावरण विस्तार भइरहेको उल्लेख गर्नुभयो।
वडा नं. ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष शिवबहादुर आलेले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियो ।
यस्तै प्रशिक्षकहरू पवित्रा लामीछाने र राममाया श्रेष्ठले सहभागीहरूको सिकाइप्रतिको उत्साह प्रशंसनीय रहेको बताउँदै तालिमपछि उनीहरू सफल उद्यमी बन्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूलाई नयाँ अवसर प्रदान गरेको उल्लेख गर्दै अब धूप, बत्ती तथा अचार उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउने तयारी रहेको बताउनुभयो।
यस कार्यक्रमले स्थानीय महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउँदै उद्यमशीलतातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page