अजम्मरी कृषि सहकारीमा बचत फिर्ता विवाद, बचतकर्ताको हिनामिनाको आरोप, अध्यक्षद्वारा अस्वीकार
दमौली, तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका– रानीपोखरीस्थित अजम्मरी कृषि सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना भएको आरोप सार्वजनिक भएको छ। चार वर्षदेखि सहकारी सञ्चालनमा नरहेको र बचतकर्ताले आफूहरूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै झुलबहादुर आले प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष सुरजकुमार श्रेष्ठको नेतृत्वमा बचतकर्ताको रकम अपचलन भएको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन माग गरिएको छ। सार्वजनिक गरिएका निवेदनअनुसार धुमाया थापा, रामबहादुर आले, बेनी आलेलगायत दर्जनौं बचतकर्ताले आफूहरूको बचत रकम अझै फिर्ता नपाएको गुनासो गरेका बताइएको छ ।
यसैबीच, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि विषयमा चासो देखाएको छ। प्राधिकरणले बचतकर्ताको निवेदनका आधारमा सहकारीका अध्यक्षसँग छलफल भएको उल्लेख गर्दै प्रतिबद्धताअनुसार रकम फिर्ता भए वा नभएको जानकारी उपलब्ध गराउन पत्राचार गरेको जनाएको छ।
यता, सहकारीका अध्यक्ष सुरजकुमार श्रेष्ठले भने आफूमाथि लगाइएको हिनामिनाको आरोप ठाडै अस्वीकार गरेका छन्। उनका अनुसार सहकारी आर्थिक रूपमा घाटामा गएपछि सञ्चालन गर्न नसकिने अवस्था आएको थियो। बजारबाट लगानी उठ्न नसक्नु, बचतकर्ताले एकैपटक रकम माग गर्न थालेपछि सहकारी बन्द गर्ने निर्णय गरिएको र त्यसका लागि समिति गठन गरी समितिको निर्णयअनुसार बचतकर्तालाई रकम फिर्ता गरिएको तथा केहीको रकम सेयरमा रूपान्तरण गरिएको उनले बताए।
श्रेष्ठले सहकारी करिब छ वर्षअघि नै सम्बन्धित निकायको प्रक्रियाअनुसार बन्द भएको दाबी गर्दै कसैको पनि रकम हिनामिना नगरेको बताए। पासबुक तथा अन्य विषयहरूलाई पनि वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरिएको उनको भनाइ छ। उनका अनुसार यसअघि नै मिलिसकेको विषयलाई अहिले पुनः सार्वजनिक गरिएको हो।

हाल बचतकर्ता पक्षले निष्पक्ष छानबिन र बाँकी रकम फिर्ताको माग गरिरहेको छ भने सहकारी पक्षले आफूहरूले कानुनी प्रक्रिया र समितिको निर्णयअनुसार काम गरेको दाबी गरेको छ। यस विषयमा सम्बन्धित निकायबाट हुने थप छानबिन र प्रक्रियापछि वास्तविक अवस्था थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


























