बाराही महिला सहकारीको सामाजिक उत्तरदायित्व : चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पुरस्कार

तनहुँ, साउन २ – म्याग्दे गाउँपालिका–१ गुणादी स्थित श्री बाराही महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पुरस्कार वितरण गरेको छ।
पोखरा–मुग्लिन राजमार्ग सुधार आयोजना अन्तर्गत सञ्चालित सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम (ADB) को अवसर पारी सहकारीको आफ्नै सहयोगमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीलाई पोसाक, विद्यालय झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको हो।
सहकारीकी अध्यक्ष सुभद्रा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानुङस्थित विजय आधारभूत विद्यालय, बाख्रेस्थित कुलज्योति प्रावि, पसलेस्थित पसले आधारभूत विद्यालय तथा किल्चोकस्थित रवीचन्द्र प्राविमा अध्ययनरत चार जना विद्यार्थीलाई उत्कृष्टताका आधारमा पुरस्कार समेत प्रदान गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।
अध्यक्ष घिमिरेका अनुसार सहकारीले बचत तथा ऋण कारोबारमा मात्र सीमित नरही शिक्षा, महिला सशक्तीकरण, सामाजिक सचेतना र समुदाय विकासका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनप्रति थप प्रेरित गर्नुका साथै समुदायसँग सहकारीको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। महिलाहरू द्वारा सञ्चालित उक्त सहकारी जिल्लामै अब्बल सहकारीको रूपमा स्थापित रहेको छ ।


























