तनहुँ प्रहरी द्वारा असार महिनामा ६६ मुद्दा दर्ता, ६३ प्रतिवादी पक्राउ
तनहुँ, साउन २ – जिल्ला प्रहरी कार्यालय तनहुँले असार महिनाको कार्यप्रगति सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार असार महिनाभर जिल्लामा ६६ वटा मुद्दा दर्ता भएका छन् भने ६३ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये २२ जघन्य तथा गम्भीर अपराध, ४ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी, २ आर्थिक अपराध तथा ३८ अन्य प्रकृतिका रहेका छन्। फैसला कार्यान्वयनतर्फ १ फरार प्रतिवादी पक्राउ गरी ३ महिनाको कैद र रु. ९० हजार जरिवाना असुल गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २६ उजुरी दर्ता भएका छन्। घरेलु हिंसासम्बन्धी २६ उजुरीमध्ये सबै मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ।
असार महिनामा प्रहरीले १४ वटा लागूऔषध मुद्दामा कारबाही गर्दै विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ। सोही अवधिमा जिल्लामा ९ जनाले आत्महत्या गरेको विवरणमा उल्लेख छ।
शान्ति सुरक्षातर्फ प्रहरीले २,३३० पिकेट, १,४९५ चेकिङ, १३० ग्रामीण गस्ती, ७ LRP र ४,७९० SRP सञ्चालन गरेको जनाएको छ।
ट्राफिकतर्फ ५ वटा सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने २,२६९ सवारी साधनमाथि कारबाही गरी रु. १९ लाख ५९ हजार ५०० राजस्व संकलन गरिएको छ।
प्राकृतिक स्रोत दोहन नियन्त्रण अभियानअन्तर्गत १७ सवारी साधन नियन्त्रणमा लिई रु. २ लाख ३२ हजार जरिवाना गरिएको छ।

त्यसैगरी, असार महिनाभर २०४ वटा समुदाय तथा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रमबाट ३ हजार ७२२ जना लाभान्वित भएका छन्। साथै, प्रहरीले १९० वटा नागरिकता सिफारिस, हेल्पलाइनमार्फत १,५५१ वटा फोन सेवा तथा १,५८० जनालाई नागरिक सहायता कक्षमार्फत सेवा प्रदान गरेको जनाएको छ।


























