बिजबारे भन्ने उमलाल बि.क.

बिजबारे भन्ने उमलाल बि.क.

देव वस्न्यात


बिजबारे भन्ने उमलाल बि.क.नेपाली लोकदोहोरी फाँटको एउटा सुपरीचित नाम हो। उमलाल बि.क. साबिक घांसीकुवा गाउँ विकास समितिको हाल व्यास नगरपालिका वडा नं.१२ को कर्लुङ थुममा वि.सं. १९९८ साल पौष महिनामा जन्मेका हुन् । बिजबारे भन्ने उमलाल बि.क श्री कृष्ण बि.क.को नाति र दुब्ले बि.क.का छोरा हुन् ।

हाल उहाँको परिवारमा श्रीमती न्याउरी माया बि.क., ,छोराहरुमा शुभलाल बि.क, देबनारायण बि.क. र पिताम्वर बि.क.रहेका छन् भने छोरीहरुमा विष्णु बि.क.,माइली बि.क. र कान्छी अर्थात सान्नानी बि.क रहेका छन् । तनहुँ लमजुङमा गाइने ठाडोभाका लोकगीत गाउनमा उनी माहिर रहेको कुरा यत्र तत्र र सर्वत्र सुन्नमा पाइन्छ ।

उहाँका जमानाका कति कलाकारले आजसम्म जीवनबाट बिदा लिइ सकेका छन् । तर ८२ वर्ष पार गरि सकेका बि.क.ठाडोभाका गीतको खाल छ भन्ने सुन्नसाथ दोहोरी गीत सुन्नमा रौसिन्छन् । उमेर छंदासम्म गीत रेकर्ड गर्ने साधान र श्रोतको अभावमा पनि सम्भव हुन सकेन । पछिल्लो पुस्ताका आफ्नैले पनि बिर्सन पुग्ने हाम्रा गाउँघरका ठाडोभाकाका हस्ती बिजबारेको दिन प्रतिदिन उमेरले नेटो काट्न थाले पछि आँगन पनि प्रदेश हुने बेला आइसकेको छ ।

उमेरमा साङ्गितिक क्षेत्रमा राम्रै प्रभाव जमाएका बिजबारे बि.क.का हालसम्म कुनै पनि गीतहरु रेकर्ड गरिएको पाइएन । तत्कालीन समयमा घरगाउमा लगाइने सत्यनारायणको पूजा, ठूलोएकादशीमा फूलतार्न भगवतीपानी जाँदा होस तथा कार्तिक र मार्गका मङ्गलबार थानीथान बसन्तपुरमा फूलको डोली लैजाँदा बाटैमा पनि दोहोरी जमाएर हिंड्ने छुटाउँदैनथे । उहाँले गाएको लोकगीत सुन्नु भएका व्यास १२ कर्लुङथुमका प्राथमिक विद्यालयका प्रधानाध्यापक श्री पदमबहादुर पन्थ , शिक्षक विद्याबहादुर गैह्रे र व्यास २ निवासी इन्जिनियर चन्द्रबहादुर थापाले उहाँ यस भेगका चर्चित लोकगायक थिए भनेर हामीलाई हामी सङ्गको साक्षत्कारमा बताएका थिए । तनहुँ लमजुङ्को लोकसांस्कृतिक क्षेत्रमा देखापरेको पाश्चात्य छाडा शैलीलाई पटक्कै मन नपराउने बिजबारे बि.क. हाम्रा लोकसंस्कृतिका पथ पर्दशक बनेर हाम्रा सामु अझै पनि सक्रिय नै देखिन्छन् ।

हाम्रो नेपाली लोकसाँस्कृतिक क्षेत्रलाई जोगाउन उनले मैबल हटिया, नाबरुङको खुर्सानी बजार,तनहुँसुरको भगवतीपानी एकादशी बजार , शिवरात्रीमा लाग्ने नैनेश्वर महादेव मन्दिर न्द्रावतीबजारमा लाग्ने मेला र दमौलीको माघेसक्रान्ति जात्रा पुगेर गीत गाउन छुटाएका थिएनन् । आफ्ना पालाका दौंतरीहरु सङ्ग बिजबारेले पटक पटक गीत गाइसकेका छन् । बूढेसकालले छोपेपछि गीत रेकर्ड गर्ने मन भए पनि बूढेसकालमा कला र गला साथ नदिए पछि चुप लागेर बस्न बाध्य बनेका छन् । अन्त्यमा बिजवारे भन्ने उमलाल वि.कले ठाडोभाका लोकगीत गायन क्षेत्रमा दिएको योगदानको उचित कदरहोस हाम्रो पनि यही सदिक्षा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page