मातातीर्थ औँसीको अवसरमा “आमा” लघुकथा सङ्ग्रह विमोचन –
भानु न. पा. निवासी विद्या ढकाल द्वारा लिखित आमा लघुकथा सङ्ग्रहको आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । ढकाल कै जन्मस्थान भानु न.पा. -४ ठाँटीको चौर- बाल उद्यानमा राष्ट्रिय भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गर्नु भएको थियो ।


त्रिसठ्ठी लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचन गर्नु भएको थियो । उहाँले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत दिनुभयो । पदम कार्की, भरत अधिकारी, जयहरि भट्टराई, हर्कबहादुर थापा, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले आज मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मान स्वरूप आफ्नो आमा लघुकथा सङ्ग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताउनु भयो । प्रमुख अथिति डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरू माथि कडा प्रहार गरिएको बताउनु भयो । स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गर्नु भएको थियो ।



























