लागुऔषध र जुवाडेकाे दाेहाेलाे काढेका तनहुँका एसपी बाेहराकाे सरूवा
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी अपिल राज बाेहराले राम्रो काम गरिरहेकाे भन्दै जिल्लामा सर्वत्र बखान भइरहेको बेलामा अकस्मात् सरूवामा परेका छन् । बाेहराको नेतृत्वमा तनहुँ प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति तथा योजनाको प्रभावकारी कार्यान्वयनले अपराध नियन्त्रणमा थप सफलता देखिरहेकाे बेला उनको काज सरूवा भएको हाे । एसपी बोहरालाइ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको छ भने प्रहरी प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ सरूवा भएका छन् । बाेहराले खासगरी तनहुँमा लागुऔषध र जुवाडेहरूकाे दाेहाेलाे काढेका थिए ।

समाजमा अनैतिक कार्य गर्नेलाई नियन्त्रणमा लिई कारबाहि प्रक्रिया अघि बढाउने , जनतालाई कानुनी राज्यको प्रत्याभूति दिने , समाजमा शान्ती सुरक्षा कायम गर्ने लगायतका बिषयमा प्रहरी प्रमुख बोहराले उल्लेखनीय काम गरिरहेका थिए । खासगरी पछिल्लो समय प्रहरीले जुवातास नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गरेको र यसले समाजमा सुशासन कायम गर्न प्रभावकारी हुने ठानिएको बेला उनलाई काज सरूवा गरिएकाे हाे ।

जुवातास नियन्त्रणमा विगतमा तनहुँ प्रहरीले पहल गरेपनि जुवातास खेलेर पक्राउ गरेका कार्यकर्ता छुटाउन केन्द्रिय तहका नेताहरुको दवाव दिने गर्दा तनहुँ प्रहरीलाई जुवातास नियन्त्रणमा समस्या रहेको तनहुँवासीको भनाई रहँदै आएकाे थियो । तर प्रहरी प्रमुख बोहराले जुवातास नियन्त्रणको लागि कुनैपनि राजनीतिक दवावमा नपरी कारवाही प्रक्रिया अघि बढाएपछि जुवातास नियन्त्रणमा कमी आएकाे थियो ।
जिल्लाकाे सुरक्षा सुधार्न प्रहरी प्रमुख बाेहराले अवलम्बन गरेको नयाँ सुरक्षा कार्यशैलीले प्रहरी अधिकारी तथा जवानहरुले समेत उत्साहका साथ काम गरिरहेका थिए । उनले सरुवा भएर तनहुँ आएको साँढे ५ महिनामा जिल्लामा कर्तव्य ज्यान मुद्दा , जबर्जस्तीकरणी , अभद्र व्यवहार , सवारी ज्यान , लागुऔषध लगायत गरि करिब ४ सय वटा मुद्दा दर्ता गराएका छन् । त्यसमध्ये ३ सय जति मुद्दा फर्छाैट भइसकेको र अन्य अनुसन्धानकाे क्रममा रहेको छ ।
लागु औषध प्रयाेगकर्ताकाे जिल्लामा भागाभाग भइरहेकाे बेला सुरक्षा सुधार्न रणनितिक योजनाका साथ ईमान्दारिता पूर्वक खटिइरहेकाे बेला र आम तनहुँ बासीले सुरक्षाको महुसुश गरिरहेकाे बेला उनी समय नहुँदै सरूवामा परेका हुन् । प्रहरी सुतेर बसेर हुदैन,सुरक्षा पाटोसँग सम्बन्धित केहि न केहि गतिबिधिमा संलग्न हुन पर्छ’ ‘सरुवा गर्देलान् भन्ने त्रासमा होईन, इमान्दारिताको साथ काम गरे प्रहरी सधै अब्बल हुन्छ ।’ ईमान्दारिताका साथ कर्तव्यनिष्ठ भए मात्र आम मानिसको भावनामा समेत प्रहरीको कदर हुने गर्दछ । प्रहरी प्रमुख बाेहराले साेहि अनुसार काम गरेको देखिन्थ्यो ।
सरूवाका सम्बन्धमा एसपी बाेहरा सँग सम्पर्क गर्दा सरूवाले आफुलाइ केही फरक नपर्ने र नेपाल भरि जुन ठाउँमा भए पनि ईमानदारीपुर्वक नियम कानुनको पालना गरेर काम गर्ने बताए ।
























