साउन २५ गते दमाैलीमा विश्व आदिवासी जनजाति दिवस मनाइने
नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषदकाे आयाेजनामा यही साउन २५ गते बिश्व आदिवासी जनजाति दिवस मनाउने भएको छ । व्यास नगर समितिका अध्यक्ष क्याप्टेन साेमबहादुर थापाको अध्यक्षतामा दमाैलीमा बसेकाे बैठकले ३० औ विश्व जनजाति दिवस भब्य तरिकाले दमाैलीकाे अनशन चाैतारी स्थित खुल्ला मञ्चमा मनाउने निर्णय गरेको समितिका अध्यक्ष क्याप्टेन थापाले बताए ।

व्यास नगरपालिका भित्रका १३ वटै आदिवासी जनजाति समुदायका अध्यक्ष तथा प्रतिनिधिहरूकाे उपस्थितिमा भएको बृहत छलफलले हरेक वर्ष झैं यस वर्ष पनि दिवस भब्य रूपमा मनाउने निर्णय गरेको थापाले जानकारी दिए । उक्त दिनमा आफ्नो भेषभुसा सहित उपस्थित हुन नगरका सबै जनजातिहरूलाइ व्यास नगरले आव्ह्वान गरेको छ ।

जिल्ला समन्वय परिषद तनहुँकाे पत्र अनुसार सबै स्थानीय तहमा उक्त कार्यक्रम गरिने निर्देशन भए अनुसार व्यास नगरको कार्यक्रम दमाैलीमा राखिएको व्यास नगर समितिका काेशाध्यक्ष वीरबहादुर दरैले बताए । बैठकमा व्यास नगरका निवर्तमान अध्यक्ष ल्याप्टेन देववहादुर गुरूङ , उपाध्यक्ष इमकुमार मल्ल , सचिव अमर थापा लगायत सबै जातजातिका अध्यक्ष एवम् प्रतिनिधिकाे उपस्थिति रहेको थियो ।
नेपालमा आदिवासी जनजाति लाइ मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएकोे जाति वा समुदाय भनी परिभाषित गरेको छ ।
























