बन्दिपुरमा साताव्यापी तीज सप्ताहन्त उत्सवकाे महानायक हमालले गरे उद्घाटन
बन्दीपुरमा सनिवार देखि सुरु साताव्यापी “तिज सप्ताहन्न उत्सव” काे महानायक राजेश हमालले उद्घाटन गरेका छन् । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रकृति र संस्कृतिको संगम भूमि पहाडकी रानीको उपमाले परिचित पर्यटकीय एवं सांस्कृतिकग्राम बन्दीपुरमा सुरु उत्सवकाे हमालले उद्घाटन गरेका हुन् ।
करिब ५० टिमको सहभागीता रहने प्रतियोगिता यही २२ गतेसम्म चल्ने क्षेत्रीय हाेटल संघ तनहुँका उपाध्यक्ष बिपिन प्रधानले बताए । उत्सव कार्यक्रममा हरेक दिन छुट्टाछुट्टै राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेबी कोइराला, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने,सुनिता नेपाली, शान्ता डोटेल, सीता परियार लगाएत स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने बताइएको छ। कार्यक्रम अन्तर्गत “बृहत् खुल्ला तीज गीत प्रतियोगिता”, तीज सांस्कृतिक कन्सर्ट, तीज महिमा प्रवचन, समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
बन्दिपुर गाउँपालिकाको संरक्षकत्वमा र बन्दिपुरमा रहेका सामाजिक संघ संस्थाहरु, बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रिय होटल संघ बन्दिपुर, तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ, रेवान जिल्ला बार एशोसियसन, बन्दिपुर गाउँपालिका पर्यटन एवं संस्कृति विभाग, सामुदायीक होमस्टे महासंघ बन्दिपुर, आर के डि महिला उद्यमशिल क्लव र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको संयुक्त आयोजनामा खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तरगत हरेक दिन बन्दिपुर क्षेत्रका विभिन्न जातजातिका साँस्कृतिक झाँकी प्रदर्शन, विभिन्न आमा समूह, क्लब, विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गरिने छ भने प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने कार्यक्रमका संयोजक एवं बन्दिपुर केवलकारका संचालक किरण पोख्रेलले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत धार्मिक शक्तिपीठहरु सिद्देश्वर महादेव, खड्गदेवी मन्दिर, बिन्दबासिनी मन्दिर, तिनधारे ज्योतिर्लिङ्ग, सन्तानेश्वर महादेव, चामुण्डादेवी माई, थानीमाई मन्दिर, पुरानकोट देवी लगायतका देवीको दर्शन गराउने र महिमा एवं शक्ति बारे परिचित गराउने कार्यक्रम समेत रहेको छ।
उत्सवमा १० हजार बढी सांस्कृतिक पर्यटकहरू भित्र्याउने उद्देश्य सहित बन्दीपुरमा कार्यक्रम सुरु भएको उत्सव कार्यक्रम ७०० वर्षभन्दा लामो धार्मिक एवं प्राचीन मन्दिर “माँ खड्गदेवी मन्दिर” प्राङ्गणमा भएको छ । तीज गीत प्रतियोगिताको विजेता प्रथम टिमलाई रु १ लाख १ हजारको नगद पुरस्कार र प्रमाणपत्र, द्धितीयलाई रु ७५ हजार र प्रमाणपत्र, तृतीयलाई रु ५० हजार र प्रमाणपत्र, र सान्त्वना हुने टिमलाई २५ हजार र प्रमाणपत्रको पुरस्कारले पुरस्कृत गरिनेछ। प्रतियोगिताका लागि घ देखि १५ जना सम्मको समूह हुनु पर्ने, समूहमा सवै महिला अनिवार्य गरिएको छ । वाद्यबादनको सामग्री आँफैले ब्यवस्था गर्नु पर्ने, हरेक टिमलाई बढीमा १५ मिनेटको समय दिईएकाे छ ।
प्रतियोगितामा छनौट चरण, क्वाटर फाईनल चरण, सेमिफाईनल चरण र फाईनल चरण हुनेछ । फाईनल चरणमा तीजे दोहोरी हुने बताईएको छ ।

























