विश्व पर्यटन दिवसमा बन्दीपुरमा हुने सडक खाना महाेत्सवकाे तयारी तिव्र

विश्व पर्यटन दिवसमा बन्दीपुरमा हुने सडक खाना महाेत्सवकाे तयारी तिव्र


विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा हुने सडक खाना महोत्सवकाे तयारी तिव्र पारिएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुँदैछ ।

बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
“पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतीका लागि तयारी गरेका छाैँ , अहिलेसम्म तुल ब्यानर टांग्ने ,सरसफाइ गर्ने , निमन्त्रणा बाँड्ने , स्वागतद्वार बनाउने लगायतका काम अगाडि बढाइएको सभापति प्रधानले बताए ।

त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरि पर्यटकलाई मनाेरञ्जन दिलाउने तयारी छ । बन्दीपुरमा अब पर्यटकको याम सुरु हुन लागेकाले यहाँका व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमले टेवा मिल्ने उल्लेख गरे । थापाले भने “गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।” गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ ।

खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा , मिनी ग्रेटवाल, तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको क्षेत्रीय हाेटल संघ तनहुँका उपाध्यक्ष विपीन प्रधान बताउँछन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । त्यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुछ्रे , धौलागिरि लगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page