आश्रमका जेष्ठ नागरिकको निशुल्क मुटु परिक्षण

नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले व्यास नगरपालिका–३ दमौली स्थित नेशनल एपोलो हस्पिटलको सहयोगमा जेष्ठ नागरिकको मुटु परिक्षण गरिएको छ । विश्व मुटु दिवसको अवसरमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरु, आश्रममा आबद्ध जेष्ठ नागरिकको मुटुको जाँच गरिएको हो । मुटु परिक्षण शिविर व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीको प्रमुख आतिथ्यतामा भएको थियो ।

आश्रम रहेका आमा तथा बुबाहरु तथा अन्य जेष्ठ नागरिकहरुको मुटुको परिक्षण गर्नुको अतिरिक्त मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी समेत प्रदान गरिएको थियो । ७८ जना जेष्ठ नागरिको मुटु परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । शिविरको व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले उद्घाटन गर्दै जेष्ठ नागरिकको स्वास्थ्य प्रति गंभिर बनेर शिविर गरेकोमा सोतीले आयोजक तथा सहयोगी नेशनल एपोलो हस्पिटललाई धन्यवाद दिए ।

प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तथा स्वास्थ्य शिविरको बारेमा प्रतिष्ठानका उपाध्यक्ष चुडामणी दाहालले जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण सहसचिव मानबहादुर आलेले गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिक चौतारी आश्रम तनहुँका अध्यक्ष तारानाथ घिमिरेले आश्रममा आश्रित जेष्ठ नागरिक सबैको स्वास्थ्यमा समस्या रहेकोले शिविरको आयोजना गरेर प्रशंसनीय काम गरेको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा इसिजी मार्फत मुटुको परिक्षण गरिएको थियो । मुटु परिक्षण शिविरमा नेशनल एपोलो हस्पिटलका डा. सुरेन्द्र रोकामगरको नेतृत्वमा स्वास्थ्यकर्मीहरु सुनिता धमेल र जीवन श्रेष्ठले स्वास्थ्य परिक्षण गरेका थिए ।


सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ ।
मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुन धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी , ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन् ।
चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुने बताइन्छ ।यस वर्ष विश्वभर “काम गरौं, मुटु बचाउँ” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईएको थियो ।
























