विवाद रहित ११ महिने उत्कृष्ट कार्यकालका साथ तनहुँबाट सरूवा भए सिडीयाे गाैतम
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएको छ । नेपाल सरकार गृह मन्तालयबाट जारी सूचनामा गौतमलाई गुल्मी जिल्लाकाे सिडीयाेमा सरुवा गरिएको छ ।
११ महिना तनहुँकाे सिडीयाेकाे कार्यभार सम्हालेका गाैतम कहिल्यैपनि विवादमा परेनन् । धेरै नेता भएको तनहुँमा यति लामो समय सबैलाई मिलाएर टिक्न सक्ने क्षमता राख्नुले पनि उनको तनहुँ बसाइ सफल भएको मान्न सकिन्छ ।
निकै पुरानो र धेरै जिल्लामा सिडीयाेकाे अनुभव बटुलेका कुशल प्रशासक गाैतमले तनहुँबासीकाे साथ र सहयोगले जिल्लाकाे बसाइ अविस्मरणीय र सफल भएको बताए । तनहुँ बासीकाे माया र सकारात्मक दृष्टिकोणले पनि काम गर्न सजिलो भएको र कुनै अफ्ट्यारो नपरेको उनको भनाइ छ ।
व्यवहारमा अत्यन्तै सरल, सबैले खाेज्ने र राेज्ने सच्चा राष्ट्रसेवककाे छवि बनाएका गाैतम अब्बल प्रशासककाे रूपमा मानिन्छन् ।

गृह मन्त्रालयद्रारा जारी सूचना अनुसार गाैतम सरूवा भए पछि तनहुँको प्रमुख जिल्ला अधिकारीमा अब गृह मन्त्रालयका सहसचिव श्यामकृष्ण थापा आउने भएका छन् । उनकाे सिडीयाेकाे कार्याकाल तनहुँ पहिलो भएको बताइएको छ । उनी फ्रेस सिडीयाे हुन् ।

गृह मन्त्रालयले गाैतम सहित २७ जना कर्मचारीकाे पदस्थापन तथा सरूवा गर्ने निर्णय बमोजिम १९ वटा जिल्ला प्रशासन कार्यालय र एउटा इलाका प्रशासन कार्यालयकाे प्रमुखको समेत हेरफेर गरेको छ । अधिकांश प्रमुखहरू रवि लामिछाने गृहमन्त्री भएको बेला सरूवा भएका सिडीयाेहरू रहेका छन् । तिहार लगत्तै देशभर आन्दाेलनकाे तयारी भइरहेको बेलामा आफ्नाे अनुकूलताकाे प्रमुख बनाउन पनि सरकारले याे सरूवा गरिएको अनुमान गरिएको छ ।
तनहुँ सँगै जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरका सीडीओहरूको पनि सरुवा भएको छ । ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा भएको छ । ललितपुरका सीडीओ तुलसीबहादुर श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।
भक्तपुरको सीडीओमा गोपालप्रसाद अर्यालको सरुवा भएको छ । अर्याल यसअघि डोटीमा थिए । भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ । रुपन्देहीमा बासुदेव घिमिरेलाई सीडीओ बनाइएको छ । रूपन्देहीका सीडीओ गणेश अयाललाई पर्सा पठाइएको छ ।
























