कविता:- “महत्वाकांक्षी मन”
समयको
घाँटी निमोठेर
बुर्लुक्क बुर्कुसी मार्दै
तिर्थ यात्रामा निस्कन
चाहान्छ यो मन
अनि
मन्दिर भित्रको भगवान समक्ष
भक्ती भाव देखाएर
हनुमानले पहाड बोके जस्तै गरि
दान पेटिका बोकेर
आफ्नै गाउँमा फर्कने मन गर्छ
महत्वाकांक्षी यो मन।
आजकल गाउँमा
पानी पर्न छाडेको छ
असिना झर्न छाडेको छ
भुँई कुहिरो उठन छाडेको छ
बरफमा
आगो झोसेर
पानी जन्माउने धृष्टता
जब देखी
यो समयले गर्न थाल्यो
सोही दिन देखी
समयको धृष्टता तोडन
मेरो मन लालायित भएको छ।
सपनाको ब्यापार गर्न
जब देखी
तन्नेरीहरु गाउँ छाडेर
शहर पस्न थाले
गाउँ छाडनु पुर्व
जब!
तन्नेरी हरु
भञ्ज्याङ् छेउको
माई थानको दर्शन गर्दै
भाकल गर्न थाले
त्यसपछि नै!
यो समयको बलि चडाउन
मन लागेको हो।
अणु बम बनेर
ब्रजन चाहेको हो!
~आकाश अधिकारी -तनहुँ।

























