इनरह्विल क्लव द्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेशनरी वितरण

इनरह्विल क्लव अफ दमाैलीको आयोजनामा व्यास नगरपालिका वडा नम्बर ५ पाटन स्थित श्री पराशर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी वितरण गरिएको छ।

मङ्सिर २४ गते सोमबार आयोजना गरिएको उक्त कार्यक्रममा २४ जना बालबालिकाहरूलाई न्यानो कपडा (स्वेटर) १५ जना बालबालिकाहरूलाई स्टेशनरी वितरण गरिएको हो। क्लबका अध्यक्ष नारायणी मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष श्री विष्णुकुमार श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्दै बालबालिकाहरूलाई समाजसेवी भावना स्वरूप पठन पाठनलाई हौसला दिनुका साथै दैनिक न्यानो कपडाको आवश्यकतालाई समेत सम्बोधन गर्नुभएकोमा उक्त क्लबप्रति धन्यवाद ज्ञापन गरेका थिए । क्लबका डिस्ट्रिक्ट ३५० नेपाल केन्द्रीय सदस्य निर्मला मल्लले मित्रता , सेवा र सहकार्य गर्दै स्वयंसेवी महिलाहरूलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्ने यस संस्थाले विगतदेखि नै सहयोगको पर्खाइमा बसेका बालबालिका तथा अन्य क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्दै आएको बताइन् ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापाले पराशर माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएकोमा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालयले तथा बालबालिकाहरूले प्राप्त सामग्रीहरूबाट पठनपाठनमा थप प्रगति गर्नेछन् भन्ने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा वडा सदस्य खिमबहादुर थापा, विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी, पूर्व अध्यक्ष एवं व्यवस्थापन समितिका सदस्य कृष्णनारायण श्रेष्ठ, संस्थाका उपाध्यक्ष सृजना घिमिरे, पूर्व अध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सविता श्रेष्ठ, पाटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरी लगायतका वक्ताहरूले बाेलेकाे विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले बताए ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको १५औं दिनको अवसरमा म हिंसा गर्दिन, म हिंसा पनि सहन्न र म हिंसा देखेमा प्रतिकार्य गर्नेछु भन्ने सन्देश समेत वक्ताहरुले राखेका थिए ।
























