तनहुँमा – छाेरीले गरिन् आमाकाे काजकिरिया
तनहुँमा आमाकाे काजकिरिया छाेरीले गरेकी छन् ।जिल्लाको शुक्लागण्डकी नगरपालिका १ काठिपिपलकी तारा कुवंर अहिले आफ्नो आमाको क्रिया कर्ममा छिन् ।

गत २० गते दुई छोरीकी आमा रुपन कुँवरको अल्यायुमा मृत्यु भएपछि तारा बैदेशिक रोजगारीबाट फर्कि आफ्नै हातले दागवती दिएर किरियाकर्म चलाएकी हुन् । ‘आमाको इच्छा थियो छोरीले क्रिया गरोस्, उनले भनिन् ‘आमाको बचन पुरा गर्न पाएकोमा खुशी छु ।’ उनले छोरा जत्तिकै भूमिका छोरीहरुको समेत हुनुपर्ने दावि गर्दै समाजमा यस्ता क्रियाकलापमा लैगिक रुपमा भएको असमान ब्यवाहार हट्नुपर्ने बताइन् ।
१३ दिनसम्मको काजक्रियामा बसेकी तारालाई स्थानीय पण्डित कालिदाश पौडेलको समेत साथ रहेको छ । क्रियाथलोमा नै भेटिएका पण्डित पौडेलले छोरीसमेत आफ्नै सन्तान भएको हुदाँ कर्मकाण्डमा सहभागि हुन मिल्ने बताए । पछिल्लो समय छोरीहरुको भूमिका नेपाली समाजमा प्रभावकारी बन्दै गएको र आमा बुवाको लालनपालनमा समेत छोरीहरु बढी सक्रिय देखिएकाले काजक्रियामा सहभागि हुन कुनै रोकतोक गर्न नमिल्ने बताए । पौडेलले तारालाई छोरालै नै गर्ने सवै विधीबाट काजक्रिया गर्न सहयोग गरिरहेको जानकारी दिए ।

दुई छोरीमात्र भएपछि छोराकै लागि सन्तान संख्या नबढाएका घनश्याम अहिलेको दुखद परिस्थितीमा समेत खुशी नै देखिन्छन् । आफ्नो र श्रीमतीको मृत्युपछिको परिस्थितीबारेमा समाजको गाईगुईले बेलाबेलामा चिन्तित बनाउने गरेको स्मरण गर्दै घनश्यामले अहिले समाजमा आफ्नै परिवारबाट उदाहरणीय कामको थालनी भएकोमा सन्तुष्ट देखिए । अर्की छोरी परिस्थितीबस आमाको काजक्रियामा सहभागि हुन नपाएको गुनासो गर्दै उनले छोरीहरुको भूमिकाले छोरा नै चाहिन्छ भन्ने मान्यता मिाथ्या मात्र रहेको बताए ।
स्थानीय नारायण विकले समेत कुवर परिवारमा छोरीले देखाएको उदाहरण सिको गर्न लायक रहेको बताउछन् । सामाजिक रुपमा रहेको कुसंस्कारहरुलाई हिम्मतले मात्र परिवर्तन गर्न सकिने दावि गर्दै विकले यस्ता कदममा समाज र शिक्षित समुदायको साथ आवश्यक रहने बताए ।
























