प्रथम भानु महाेत्सवमा साेमबार राजु परियार लगायतको प्रस्तुति रहने
तनहुँकाे भानुमा पाैष ९ गते मंगलबारदेखि सुरु भएको प्रथम भानु नगर महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरूकाे प्रस्तुतिले आकर्षण थप्दै गएको छ । ख्यातिप्राप्त कलाकारहरूकाे प्रस्तुतिले महाेत्सव हेर्न दर्शकहरूकाे उपस्थिति बाक्लिँदै गएको छ ।

यसैबीच भोलि साताैं दिन साेमबार पाैष १५ गतेकाे मुख्य आकर्षणहरुमा राष्ट्रिय कलाकार लोक सम्राट राजु परियार, पुरुषोत्तम न्यौपाने, सृजना खत्री, चोलेन्द्र पौडेल, जगत गौडेल लगायतका अन्य कलाकारहरुको प्रस्तुति रहने आयाेजकले जनाएको छ ।
भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रबद्र्धकमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएकाे समेत संयोजक श्रेष्ठले बताए ।
भानु नगर उद्योग वाणिज्य संघका महासचिब कृष्ण कोईरालाले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १ सय २० वटा स्टलहरु रहेको जानकारी दिए । उनका अनुसार एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिकधामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको त्रिपाठीले बताए । महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।

























