विज्ञान शिक्षक समाजकाे छलफल एवम् वनभाेज कार्यक्रम सम्पन्न
माघ ५ गते शनिबार विज्ञान शिक्षक समाज तनहुँको आयोजनामा जिल्ला भरीका विज्ञान शिक्षकहरूको वनभोज कार्यक्रम सम्पन्न भएको छ। म्याग्दे गाउँपालिकाको छविसे स्थित अकला मन्दिर परिसरमा भएको वनभोज कार्यक्रमको सभापतित्व विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष देवराज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि टप्स एजुकेशन फाउन्डेसन पोखराका प्रबन्ध निर्देशक बलबहादुर थापा रहनु भएको थियो।

टप्स एजुकेशन फाउण्डेशनको प्रयोजनमा भएको सो वनभोज कार्यक्रममा टाइम्स पब्लिकेशनका गण्डकि प्रदेश बजार व्यवस्थापक सन्तोष घिमिरेले समेत आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो। गणेश मावि म्याग्दे छाङका माध्यमिक तह विज्ञान शिक्षक तथा विज्ञान शिक्षक समाज गण्डकी प्रदेश सदस्य नारायण पोख्रेलले संयोजन गर्नुभएको कार्यक्रममा जिल्ला भरका ६० भन्दा बढी विज्ञान शिक्षकहरूका साथै विभिन्न संघसंस्था तथा विभिन्न विषयगत समितिका प्रतिनिधि अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

छोटो औपचारिक कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि थापाले विज्ञान शिक्षकको क्षमता अभिवृद्धिका लागि आफ्नो संस्था स्टानसंग सहकार्य गर्न सदैब तयार रहेको बताउनु भएको थियो। साथै टाइम्स पब्लिकेशनका सन्तोष घिमिरेले बिगतमा पनि स्टान तनहुँसंग विभिन्न शैक्षिक कार्यक्रममा हातेमालो गरेको जानकारी दिनु हुदै यस्तो सहकार्य निरन्तर रहने र छिट्टै नै विज्ञान शिक्षकको क्षमता अभिवृद्धिका लागि बृहत शैक्षिक कार्यक्रम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो। जिल्ला भरका विज्ञान शिक्षकहरू बिच परिचयात्मक तथा अनुभव आदन प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको र विभिन्न संस्थाहरूसंग हातेमालो गरेर स्टानले विभिन्न कार्यक्रमहरू गर्न आफुहरू सदैव ईच्छुक रहेको कुरा अध्यक्ष अधिकारीले बताउनु भएको थियो। कार्यक्रममा उपस्थित तनहुँ जिल्लामा नवनियुक्त विज्ञान शिक्षकहरूलाई टिका स्वागत पनि गरिनुका साथै सहभागी धेरै शिक्षकहरूले आफुमा रहेका विभिन्न कलाहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका लागि अकला मन्दिर ब्यबश्थापन समिति अध्यक्ष तथा मिन मावि थर्पूका प्रधानाध्यापक तथा विज्ञान शिक्षक राजेन्द्र भण्डारीले समितिको तर्फबाट वनभोज कार्यक्रम स्थल निशुल्क उपलब्ध गराउनु भएको थियो। वनभोज कार्यक्रममा संयोजक नारायण पोख्रेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने विज्ञान शिक्षक समाज तनहुँ जिल्ला कार्यसमितिको सचिव तथा तालबेसी माविका प्रधानाध्यापक ध्रुव वाग्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
























