एसपीमा बढुवा हुन डिएसपीहरूकाे दाैडधुप
नेपाल प्रहरीको एसपी पदमा ३७ जनाकाे पद रिक्त छ । जसअनुसार अहिले रहेका डिएसपीहरू बढुवाकाे लागि दाैडधुपमा लागेका छन् । तथापी जुनियर प्रहरीहरुको दबाबका कारण एसपीको बढुवा पनि अवरुद्ध हुन पुगेको बताइएको छ ।

बढुवाको प्रतिस्पर्धामा सिनियर ब्याचबाट २४ जना डिएसपीहरू छन् । जसमा डीएसपीहरू नवीनकृष्ण भण्डारी, दीपक गिरी, रविन कार्की, तिलक भारती, दीपक श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल, सूर्यबहादुर खड्का, अनिलकुमार खड्का, सुमित खड्का, किशोरकुमार श्रेष्ठ, प्रेमबहादुर शाही, ज्ञानेन्द्रबहादुर बस्नेत, वीरेन्द्र थापा र महेन्द्र नेपाल छन् ।

उनीहरु २०६१ सालमा भर्ना भएका हुन् । सोही ब्याचका टेकबहादुर कार्की क्षेत्री, महेश थापा, दिपेन्द्र पञ्जियार थारू, कुलदिप चन्द, राजन चापागाईं, युवराज खड्का, फणिन्द्र प्रसाईं, केशवकुमार थेवे, मनोहरप्रसाद भट्ट र शरदकुमार थापा क्षत्री एसपी बढुवाका मुख्य दाबेदार हुन् ।
बाँकी १३ पदमा २०६२ को ब्याचका प्रहरी अधिकृतहरु लागेका छन् । जसमा दानबहादुर थापा, रुकेश तण्डुकार , रविन्द्रनाथ पौडेल, पवनकुमार भट्टराई, निशान थापा, रामेश्वर पौडेल, कवित कटुवाल, दधिराम न्यौपाने, श्यामकुमार सारु मगर र सुदीपराज पाठक छन् ।
०६२ को भदौमा इन्स्पेक्टरमा भर्ना भएका पिजीको पहिलो ब्याचका यी अधिकारी २०७२ मा डीएसपी भएका थिए । दानबहादुर तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको पिएसओ भएकै कारण सबैलाई उछिनेर बढुवा भएका थिए ।
१८ महिनापछि डीएसपी भएका सोही ब्याचका अन्य अधिकृतहरु अहिले शक्तिकेन्द्रमार्फत बढुवामा पर्न लागिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ रहेका नवीन कार्की, कर्मचारी प्रशासन शाखामा कार्यरत मुकुन्द रिजाल अहिले सबैभन्दा शक्तिशाली देखिएका छन् ।
उनीहरु टप तीनभित्र बढुवा हुने दाउमा छन् । सोही ब्याचका रुगम कुँवर, भेषराज रिजाल लगायत पनि बढुवाका प्रतिस्पर्धी छन् । डीएसपीमा उनीहरु १८ महिना पछि भएपनि आफुहरुलाई त्यतीबेला अन्याय भएकाले अहिले न्याय गर्नुपर्ने भन्दै लबिइङमा लागेका छन् ।
























