शिक्षक मैत्री कानुन निर्माण गर्न शिक्षकहरुले आन्दोलन गर्ने

शिक्षक मैत्री कानुन निर्माण गर्न शिक्षकहरुले आन्दोलन गर्ने



शिक्षक मैत्री कानुन निर्माण गर्न शिक्षकहरुले आन्दोलनमा उत्रिनु पर्ने वक्ताहरुले बताएका छन् । नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशको बुधबार पोखरामा गरिएको प्रतिनिधिसभाको कार्यक्रममा सो कुरा शिक्षक नेताहरुले बताएका हुन् ।
गण्डकी प्रदेशका ११ वटा जिल्ला र ८५ वटा पालिकाहरूको प्रतिनिधित्व हुनेगरी सभा गरिएको थियो । प्रतिनिधि सभामा उपस्थित प्रमुख अतिथि गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेलले शिक्षक जस्तो सम्मानित पेशामा आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै पनि आफ्नो लागि कानुन निर्माण गर्न आफैं आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको र पटकपटक भएका एउटै सम्झौतालाई आन्दोलनमै गई पटकपटक सरकारलाई सम्झाउन पर्ने अवस्था सिर्जना भएकोमा शिक्षकका यावत समस्यालाई सम्बोधन गर्ने गरी संसदको यसै अधिवेशनबाट शिक्षा ऐन जारी गर्न सबै पक्ष सकारात्मक भई अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सदस्य जीत शेरचनले शिक्षकहरूले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान र शैक्षिक क्षेत्रमा शिक्षकले गरेको महत्वपूर्ण योगदानलाई भुल्न नहुने र शिक्षा र शैक्षिक क्षेत्र प्राथमिकतामा रहनुपर्ने बताए । प्रतिनिधि सभामा गण्डकी प्रदेशका पालिका प्रमुखहरू विभिन्न संघसंस्थाका प्रतिनिधिहरू शिक्षक महासङ्घ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरू साथै प्रत्येक जिल्लाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रतिनिधिसभामा महासचिव शिवराज अधिकारीको सांगठनिक प्रतिवेदन र महासचिव अर्थ गायत्री आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन उपर बृहत छलफल भई उक्त प्रतिवेदनहरू पारित गरिएको थियो । उक्त प्रतिनिधि सभामा जिल्लाका जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लामा गरेका गतिविधि हरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाल शिक्षक संघ म्याग्दी जिल्ला कार्यसमितिलाई र तमान खोला गाउँपालिका स्थानीय कार्यसमितिलाई नगद र प्रशंसा पत्रसहित सम्मान गरिएको गण्डकी प्रदेशका प्रवक्ता एवं सूचना तथा सञ्चार विभाग प्रमुख श्रीकृष्ण आचार्यले जानकारी दिए । करिब नौ हजार शिक्षक आबद्ध शिक्षक सङ्घ गण्डकी प्रदेशले आफ्ना भावी कार्यक्रममा आगामी शैक्षिक सत्र भन्दा अगाडि नै ११ वटै जिल्लामा पुगेर जेनेरेटिभ एआइसँग सम्बन्धित तालिम सञ्चालन गर्ने योजना स्वीकृत गरेको शिक्षामा प्रविधिको प्रयोग गर्ने अभियानका अभियान्ता एवं प्रदेश प्रवक्ता आचार्यले बताए । कार्यक्रम नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page