६ वर्षदेखि जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र निमित्तकाे भरमा
तनहुँ स्थीत संघीय अस्पताल ६ बर्ष देखि निमित्त कार्यकारी निर्देशकको भरमा संचालन भएको छ । जिल्लाकाे शुक्लागण्डकी नगरपालिका स्थित बेलचौतरामा रहेको सरकारी अस्पताल ६ बर्ष सम्म निमित्तको भरमा चलेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो नदिँदा जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ६ बर्ष देखि कार्यकारी निर्देशक नियुक्ती हुन सकेको छैन् । तत्कालिन कार्यकारी निर्देशक डा मुक्तिनाथ भट्टराईको २०७५ असारमा कार्यकाल सकिएको थियो । उनको कार्यकाल सकिएको ६ बर्ष वित्न लाग्दा पनि नयाँ निर्देशक नियुक्त हुन नसकेको मात्रै हाेइन प्रक्रिया नैं सुरु भएको छैन । अस्पतालमा कार्यकारी निर्देशक नहुदाँ अस्पतालको विकास र विस्तारमा हुनुपर्ने कामहरु अगाडी नबढेको अस्पताल श्रोतले बतायो ।

सो अस्पतालमा अहिले निमित निर्देशकको रुपमा डाक्टर रामकुमार श्रेष्ठले काम गरिरहेका छन् । तनहुँ जन्मघर भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भएपनि यो अस्पतालले कार्यकारी निर्देशक पाउन सकेको छैन् ।
नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनता र राष्ट्रका लागि पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई राज्यले उच्च मूल्याङ्कन र सम्मान गर्दै उनको स्मृतिमा जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्थापना भएको थियो । स्व. गिरिजाप्रसाद कोइरालाको २०६६ चैत ७ गतेका दिन श्वासप्रश्वाससम्बन्धी रोगले निधन भएकाले तत्कालीन सरकारले १०० शैय्याको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।
नेपालमा मुटु, मृगौला, आँखा क्यान्सर लगायत अन्य रोगको उपचारका निम्ति विशेष सेवा सहितको अस्पताल स्थापना भएतापनि श्वास –प्रश्वाससम्बन्धी रोगको विशेष सेवासहितको अस्पताल स्थापना भएको थिएन । सोही आवश्यकतालाई पूरा गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट डा. करवीरनाथ योगीलाई अध्यक्ष तोकेर अस्पताल सञ्चालक समितिको गठन गरी काम अघि बढाइएको थियो । हाल तनहुँको दुलेगौडामा यस केन्द्रको स्वामित्वमा ७४० रोपनी जग्गा रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिति २०७० असार २४ गते जारी जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति ९गठन० आदेश, २०७० अन्तर्गत काम गर्दै आएको छ ।

तत्कालीन सेती गङ्गा सामुदायिक अस्पताल यस केन्द्रलाई हस्तान्तरण गर्ने मन्त्रीपरिषद्को निर्णय अनुसार २०७३ साउन १ गतेदेखि यस केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएको थियो । हाल स्थानीय आवश्यकताको लागि जनरल अस्पतालको रुपमा सेवा संचालन भइरहेको छ ।श्वास प्रश्वास उपचार केन्द्रको रुपमा भने अस्पतालले प्रभावकारी काम गर्न सकेको छैन् ।
























