नाै नातिनातिनीका हजुरबुबा ६८ वर्षका लालबहादुर स्कुल पढ्दै
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ निवासी ६८ वर्षका लालबहादुर बि.क. यतिबेला कक्षा १२ को परीक्षा दिँदै छन् । २०१४ सालमा पालुङटार नगरपालिका वडा नम्बर ६ कालामाटामा जन्मेका बि.क. यतिबेला कक्षा १२ को परीक्षामा सहभागी भइरहँदा धेरैको ध्यान उनितर्फ जानुका साथै प्रेरणाको स्रोत समेत बनेका छन् । उनको पढाइप्रतिको लगाव र प्रेरणाले आफूहरुलाई पनि पढाइप्रति उत्साह जागेको उनिसँगै परीक्षामा सहभागी भएका विद्यार्थीहरुले बताएका छन् ।
तत्कालीन समयमा गाउँमै रहेको विद्यालयबाट सामान्य अध्ययन गरेका बि.क. २०३५ सालमा नेपाल प्रहरीमा भर्ती भएर २० वर्षसम्म सेवा गरी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट सेवा निवृत्त भएका थिए ।
परिवारमा ४ भाइ छोरा र १ बहिनी छोरी मध्ये का साइँलो सन्तान भएको र तत्कालीन समयमा अध्ययन कार्यलाई निरन्तरता दिनको लागि आर्थिक समस्याका कारण पछि परेको उनी बताउँछन् । पढाइप्रति आफूलाई रुचि लागेको भएतापनि तत्कालीन समयमा विद्यालयमा शुल्क तिर्नुपर्ने तर आफ्नो पारिवारिक विपन्नताका कारण शुल्क तिर्न नसक्दा आफूले अध्ययन गर्न नपाएको पीडा मनभित्रै रहिरहेको थियो ।
खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ बि.क.ले नेपाल प्रहरी मा सेवारत भइरहेकै अवस्थामा स्व-अध्ययन गरी २०४२ सालमा रामशाह मा.वि. आँबु खैरेनी केन्द्रबाट प्राइभेट एस.एल.सी. परीक्षा दिई तृतीय श्रेणीमा उत्तीर्ण भएका थिए । बिचमा जागिरको सिलसिलामा पढ्ने समय नमिलेपछि २०५५ सालमा जागिरबाट निस्किएर विभिन्न राजनीतिक मोर्चामा रहेर काम गर्दै आएका बि.क. २०५९ सालदेखि सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादी को विभिन्न तहमा रहेर पूर्णकालीन रुपमा काम गर्दै आएका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा पालुङटार नगरपालिकाको उपमेयर पदमा समेत उम्मेदवारी दिई पराजित भएका उनी राजनीतिक सामाजिक र शैक्षिक क्षेत्रमा लागेका थिए । बि.क लक्ष्मी मा.वि गाईखुर र जनज्योति आधारभूत विद्यालय कालामाटाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
पछिल्लो समय राजनीतिक रूपमा नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेका बि.क.को ३ जना नाति र ६ जना नातिनीहरु रहेका छन्।

भित्रै देखि पढ्ने चाहना हुँदाहुँदै पनि विभिन्न परिवेशले गर्दा अध्ययन गर्न नसकेका उनलेे गत वर्ष पालुङटार नगरपालिकास्थित भवानी माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भई आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए । कक्षा ११ र १२ मा शिक्षा शास्त्र संकाय अन्तर्गत ऐच्छिक नेपाली विषय लाई मूल विषय बनाएर अध्ययन गरेका बि.क.को लेखन शैली अत्यन्तै राम्रो स्पष्ट र छिटो भएको उनलाई अध्यापन गराउनुभएका नेपाली शिक्षक चेतनाथ पन्तले बताए । विद्यालय जाँदाखेरि विद्यालय ड्रेसमै जाने र अनुशासित भएर कक्षामा बस्ने गरेको देख्दा सबै शिक्षक विद्यार्थी र समाजलाई समेत प्रेरणा को स्रोत बनेका बिक कक्षा १२ को अध्ययन पश्चात ब्याचलर तह पनि अध्ययन गर्ने सोचमा रहेको बताउछन् ।

























