तनहुँका सामुदायिक वनमा ४२ पोखरी निर्माण
डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा वन्यजन्तुका लागि यहाँका सामुदायिक वनमा ४२ वटा पोखरी निर्माण गरेकाे छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा दश नयाँ पोखरी निर्माण गरिएको सो कार्यालयले जनाएको छ ।
पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए ।
“पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जङ्गलमै पोखरी निर्माण गरिएको उनलेे बताए ।
वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा कार्यालये लिएको छ ।
श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा म्याग्दे गाउँपालिका–३ स्थित सिद्ध बतास सामुदायिक वन, देवघाट गाउँपालिका–४ स्थित आडाँडा महोरिया सामुदायिक वन, ऋषिङ गाउँपालिकाको वडा नम्बर ३ जनशक्ति सामुदायिक वन, वडा नम्बर ४ को वराहसेनी सामुदायिक वनमा निर्माण गरिएको छ ।
यस्तै शुक्लागण्डकी नगरपालिका–२ को तारा सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ को सिद्धथान सामुदायिक वन, भीमाद पालिका–४ को मसुरेगैरा सामुदायिक वन, व्यास नगरपालिका–११ को द्रुपता सामुदायिक वन, व्यास नगरपालिका–७ को क्यामिन हरियाली सामुदायिक वन र भानु नगरपालिका–८ को देउराली सामुदायिक वन गरी दश वटा पोखरी निर्माण गरिएको छ । पोखरी निर्माणको लागि एक लाख अनुदानको व्यवस्था गरिएको छ ।
जङ्लमा पोखरी निर्माण गरिएका क्षेत्र आसपासको बस्तीमा हाल जङ्गली जनावर र मानवबीचको द्वन्द्व कम भएकोले पोखरी निर्माण कार्यलाई प्राथामिकता दिइएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ मा दश, आर्थिक वर्ष २०७८÷०७९ मा १४, आर्थिक वर्ष २०७९÷२०८० मा आठ वटा पोखरी निर्माण गरिएको थियो ।
पोखरी निर्माण गरिएपछि त्यस क्षेत्रमा यस वर्ष जङ्गलमा आगोलागी कम भएको , चराचुरुङ्गीले प्यास मेटाउन पाएका छन् भने हरियालीमा वृद्धि हुँदा घाँस खाएर बाच्ने प्रजातिका जनावरको आहार व्यवस्थापनमा सहज भएको कार्यालयले जनाएको छ ।
मुहानको संरक्षण तथा पोखरी निर्माण गरिएपछि वन्यजन्तुलाई जङ्गलमै भुलाउन सहयोग पुगेकोले द्वन्द्व व्यवस्थापनमा सहज भएको वन अधिकृत नविन विश्वकर्माले बताए ।
जङ्गलमा पानीको स्रोत संरक्षण तथा पोखरी निर्माण गरी पानीले भरिएपछि वन्यजन्तुलाई पानीको अभाव नहुने र पानीका स्रोतहरु तथा मुहान नसुक्ने, जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा उल्लेख्य योगदान पुग्ने पोखरी निर्माणलाई अभियानको रुपमा सञ्चानल गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार चितुवा प्यास मेटाउन बस्तीमा पस्ने चितुवाले आक्रमण गरिरहेको निष्कर्ष निकाल्दै जङ्गलमै पोखरी निर्माण गर्न थालिएकामा प्रभावकारी बन्दै गएको छ ।

























