राष्ट्रपति पौडेल द्वारा ठिमुरा पुलको उद्घाटन:

तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदी माथी बनेको मोटरेवल पुलको शनिबार राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गरेका छन् ।

पुलको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्ने बताए । उनले लोकतन्त्रप्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाउने बताए ।

देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको उनले स्पष्ट पारे । “म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा भाग्दिन, अर्थात देश विकास नै मेरो अभिष्ट र अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भने ।
“ऋषिमुनीहरूले तपस्या गरेको देवघाटका प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वको स्थलहरूको संरक्षण र संवद्र्धन गरी सरोकारवालाहरूको सहयोगमा उत्कृष्ट धार्मिक तथा आध्यात्मिक केन्द्र बनाएर विश्वकै ध्यान यसतर्फ केन्द्रित गर्न जरुरी छ भन्दै राष्ट्रपति पाैडेलले देवघाट धाम, गण्डकी नदी, तीनका सहायक नदीहरू तथा यहाँका विविध क्षेत्रको महत्वबारे परिचित गराउन जरुरी भएको बताए ।
“दासढुंगा पुलले माथिल्लो भागलाई जोडेको थियो भने यो पुलले देवघाटलाई सोझै नारायणघाटसँग जोड्दछ । उनलेे भने ।
निर्माण सुरु भएको १० वर्ष पछि तनहुँ र चितवन जोड्ने मोटर गुड्ने यो पुल सञ्चालनमा आएको हो । यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र स्थानीय बासिन्दा लाभान्वित भएको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले जानकारि दिए ।

निर्माण सुरु भए यता पटक–पटक निर्माण कम्पनीले काम छोडेर जाने गरेका कारण पुल बन्नेमा शंका गरिरहेका स्थानीयहरू नदीमा पुल बनेपछि खुशी छन् । सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको थियो । निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कनबीचमा संशोधन गर्नुपर्दा ढिलाई भएको थियो । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको हो ।

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको थियो । मोटर गुड्ने यस पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, निर्माण पुरा हुने लाग्दा पुल भत्किनु लगायतले गर्दा पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माणको लागि राष्ट्रपति पौडेलले चासो राख्दै आएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page