दमाैलीमा भएको बजार अनुगमनमा कुहिएको चामल भेटियो




दमौलीका विभिन्न खाद्यान्न पसलहरूमा अनुगमन गर्दा कुहिएको चामल लगायत मिति सिद्धिएका अखाद्य वस्तुहरू ठुलो मात्रामा फेला परेका छन्। उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने बस्तुहरु व्यवसायीहरूले टाँसिमा , फ्रिजमा सजाएर राखेकाे भेटिएको छ ।
व्यास नगरपालिका अनुगमन समितिका संयोजक एवं उप प्रमुख ईन्दिरा दरैको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, व्यास २ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, व्यास नपाका प्रशासकिय अधिकृत रामचन्द्र हङ्खले, नगर प्रहरी, पत्रकार लगायतको संयुक्त अनुगमन टोलिले अनुगमन गर्दा यस्ता वस्तुहरु पाइएको हो ।व्यास नगर उपप्रमुख ईन्दिरा दरैले व्यापारिलाई उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार नरहेको उल्लेख गर्दै म्याद सकिएका बस्तुहरु बिक्रि वितरण नगर्न आग्रह गर्दै आगामी दिनहरुमा यस्तो भेटिएमा कानुन बमोजिम कारबाही गरिने बताइन् ।सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले अनुगमनका क्रममा पहिलोपटक व्यवसायीहरूलाइ सचेत गराइएको बताए । अनुगमन नियमित भइरहेको र डेटएक्स्पायर सामानहरू छुट्टै एक्स्पाएर जाेनमा राख्नुपर्ने रेग्मीले बताए । भनेको नमान्ने , कानुन भन्दा बाहिर रहनेहरूलाइ कानुनी दायरामा ल्याइने समेत उनलेे जानकारी दिए ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँका प्रमुख ज्योति आचार्यले सामान खरिद गर्दा उपभोक्ताहरुले पनि सचेत भएर बनेको मिति र उपभोग गर्ने मिति राम्रो सङ्ग हेरे सामान किनेको बिल लिएर मात्र किनमेल गर्न आग्रह गरे ।
व्यास नगरपालिकाको वडा नं-२, दमौली बजारमा रहेका खाद्यान्न पसलको अनुगमनका क्रममा कुहिएको चामल , मिति सिद्धिएका बिस्कुल , फ्रुटी, चिया पत्ति, चकलेट , पापड , चुक अमिलो जस्तै देखिने अखाद्य अमिलो जस्तो देखिने झोल पदार्थ लगायत बोराका बोरा बस्तुहरु बरामत गरिएको थियो । उक्त सामाग्रीहरु नगरपालिकाले जफत गरेको छ ।

























