निर्माण पूरा नहुँदै ३७ करोडकाे दुलेगौंडा–लिलाचोक सडकको हेल्थपोष्टचोक नजिकै भासियाे
विश्व बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत निर्माणधीन दुलेगौंडा– लिलाचोक सडकको सम्पन्न नहुँदै भासिएकाे छ । एमएस बानियाँ निर्माण सेवा हेटौंडाले सडक निर्माणको ठेक्का लिएको उक्त परियोजना ३७ करोड १८ लाख ३६ हजार २६ रुपैयाँ २४ पैसा अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा बानियाँले २७ करोड ३४ लाख ७९ हजार ८३४ रुपैयाँ ९९ पैसामा ठेक्का लिएको थियो । निर्माण पुरा नहुँदै बाटोमा उठाएको जाली भासिएपछी बाटो नै जाेखिममा परेको हाे । बाटो सम्पन्न नहुँदै अलपत्र अवस्थामा रहेपछि यसको स्थानीय स्तरबाट व्यापक आलाेचना भएको छ । दैनिक दर्जनौं गाडी र सयौं यात्रु हिड्ने उक्त बाटोकाे अवस्था सम्पन्न नहुँदै जिर्ण भए पछि निर्माणमा गम्भीर प्रश्नचिह्न उब्जेको छ । स्याङ्जा , पाल्पा , नवलपुर लगायत जिल्लाका अधिकांश ठाउँमा आवतजावत गर्ने महत्त्वपूर्ण सडकमार्गकाे रूपमा रहेको उक्त मार्गको अवस्था सम्पन्न नहुदै यस्तो भए पछि यसको छानबिन हुनुपर्ने समेत माग उठेको छ ।

यसैबीच आइतबार रातिदेखि परेको अविरल बर्षाका कारण हेल्थपोष्टचोक नजिकै निर्माणाधिन सडक भासिएपछि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित एक्सनमा उत्रेका छन् । प्रमुख पण्डितले निर्माण कम्पनीका प्रतिनिधिलाई बाेलाइ तत्काल भासिएको सडक बनाउन निर्देशन दिएका छन् । निर्माण कम्पनी बानियाँ निर्माण सेवाका सम्पर्क अधिकारी श्यामानन्द गुप्ता सहित लाई नगरपालिकामा बाेलाएर क्षति मुल्याङ्कन गरेर सडक निर्माणलाई तिव्र बनाउन पण्डितले निर्देशन दिएका हुन् । कम्पनीका प्रतिनिधिहरुले विमा भएको सडक भएकाले नगरपालिका र सरकारलाई आर्थिक भार नपर्ने जनाउदै पुननिर्माणका काम विमा कम्पनीको निरिक्षण पश्चात तत्काल सुरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

























