अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भिमादमा उत्कृष्ट संरक्षकलाई सम्मान

“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय नाराका साथ अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस भिमाद नगरपालिकामा विशेष कार्यक्रम गरी भव्यतापूर्वक सम्पन्न गरिएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नवौँ दिन आयोजित कार्यक्रम मंसिर १७ गते सम्पन्न गरिएको हो।

नगर उपप्रमुख शारदा खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दधिराज सुवेदी रहेका थिए । नगरप्रमुख सुवेदीले ब्यानर वाचन तथा हस्ताक्षर गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा भिमाद नगरपालिकाका नौवटै वडाबाट छनोट भएका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूलाई स्याहार–सुसार गर्दै आएका अभिभावकहरूलाई दोसल्ला, अविर तथा जनही रु. ५,००० प्रदान गरी सम्मान गरिएको थियो।
त्यसैगरी, “समृद्ध भिमादको आधार : आर्थिक सामाजिक विकास र दिगो पूर्वाधार” भन्ने नाराका साथ सञ्चालित सामाजिक विकास अभियानअन्तर्गत भएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका भिमाद नगरपालिका–६ जनज्योति माध्यमिक विद्यालयका दुई छात्रा, एक छात्र तथा प्रधानाध्यापकलाई पेन, डायरी र अविर अर्पण गरी सम्मान तथा बधाई प्रदान गरिएको थियो।
सम्बोधनका क्रममा नगरप्रमुख सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवा–सुविधा विस्तार गर्ने नगरपालिकाको इच्छा भए पनि स्रोत–साधनको अभावमा सीमित लाभार्थीलाई मात्र सेवा उपलब्ध गराउन बाध्य भएको बताएका थिए।
उपप्रमुख खनालले अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको क्षमता अनुरूप सीप र तालिम प्रदान गर्न सके उनीहरू आत्मनिर्भर बन्न सक्ने बताउँदै, राज्य र नगरपालिकाले आफूहरूलाई महत्वपूर्वक हेरेको अनुभूति गराउन नै यो सम्मान कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारिन्। साथै अपाङ्गता भएका नागरिकप्रति सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रहसमेत गरिन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, ९ वटै वडाका वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, नेपाल प्रहरी, कार्यपालिका सदस्य, बहिनी एडुकेयर फाउण्डेशनका प्रतिनिधि, मस्तिष्क पक्षघात स्वावलम्बन समूहका प्रतिनिधि तथा नगर कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

























