अर्चल धारामा ऐतिहासिक धारो निर्माण कार्य जारी
तनहुँ। तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ स्थित अर्चल धारामा ऐतिहासिक महत्व बोकेको धारो निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। उक्त निर्माण कार्य तनहुँस्थित सशस्त्र प्रहरी बल मनकामना गणका प्रहरी निरीक्षक वसन्त जिसीको नेतृत्वमा भइरहेको छ।
परम्परागत शैलीलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ निर्माण भइरहेको यस धारोमा पुराना कलात्मक मूर्तिहरू तथा बहुमूल्य ढुङ्गाहरूको प्रयोग गरिँदैछ। यसले धार्मिक सम्पदाको संरक्षण तथा संवर्द्धनसँगै स्थानीय संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि पनि सोही टोलीले व्यास नगरपालिका अन्तर्गत पर्ने छाब्दी धार्मिक स्थलमा धारो निर्माण कार्य सम्पन्न गरिसकेको थियो। छाब्दीमा सम्पन्न उक्त कार्यले स्थानीयवासी तथा भक्तजनबाट व्यापक प्रशंसा पाएको थियो।

स्थानीयवासीहरूका अनुसार प्रहरी निरीक्षक वसन्त जिसीको सक्रियता र नेतृत्वमा भइरहेका यस्ता पहलहरूले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा सुरक्षाकर्मीको भूमिका उदाहरणीय बनेको छ। निर्माण कार्य सम्पन्न भएपछि अर्चल धाराले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले थप महत्व पाउने विश्वास गरिएको छ।


























