व्यासकाे कार्यपालिका बैठकमा राजस्व बाँडफाँड र प्राविधिकको भूमिकालाई लिएर चर्कियो विवाद

व्यासकाे कार्यपालिका बैठकमा राजस्व बाँडफाँड र प्राविधिकको भूमिकालाई लिएर चर्कियो विवाद

तनहुँ — व्यास नगरपालिकाको कार्यपालिका बैठक राजस्व बाँडफाँडको विषयलाई लिएर तनावग्रस्त बनेको छ। बैठकमा प्राविधिक कर्मचारीले समयमा काम नगरेको, मनलाग्दी गरेको भन्दै बजेट कटौती गरिएको विषय उठेपछि विवाद चर्किएको हो।
कार्यपालिका बैठकमा वडा अध्यक्ष बसन्त आलेले वडाका विकास निर्माणसम्बन्धी योजनामा पटक–पटक ढिलासुस्ती र आलटाल हुने गरेको आरोप लगाउँदै नगरप्रमुखसहित नगरपालिकाप्रति आक्रोश व्यक्त गरेका थिए। प्राविधिकहरूको लापरबाहीका कारण योजनाका काम समयमै सम्पन्न गर्न कठिन भइरहेको उनको भनाइ थियो।
बैठकमा सहभागी एक कार्यपालिका सदस्यका अनुसार वडा अध्यक्ष आलेले उठाएका विषयहरू सान्दर्भिक थिए। “धेरै पटक यस्तै समस्या दोहोरिएपछि उहाँले आक्रोश पोख्नुभएको हो,” ती सदस्यले भने। उनका अनुसार नगरपालिकाले योजना छुट्याएर प्राविधिकमार्फत विभिन्न बहाना देखाउँदै काम रोक्ने प्रवृत्तिका कारण तनावको स्थिति बनेको हो। “यो अवस्था आउनुमा नगरपालिका र प्राविधिकको भूमिका छ, वडा अध्यक्षको होइन,” अर्का एक सदस्यले बताए।
जनप्रतिनिधिहरूका अनुसार प्राविधिकले मनपरी गर्ने र योजनामा विभेद गर्ने काम नगरपालिकाबाट पहिल्यैदेखि हुँदै आएको छ। विशेषगरी वडाको बजेटबाट वडा कार्यालयसँगै रहेको पुरानो भवनको कामसहित समग्र वडाका योजनाका विषयमा बैठकमा असहज परिस्थिति सिर्जना भएको थियो।
बैठक नगरप्रमुख वैकुण्ठ न्यौपानेको नियन्त्रण बाहिर गएपछि उनले बैठक छाडेर बाहिर निस्केका थिए। बैठक कक्षबाट आफ्नै कक्षमा पुगेका नगरप्रमुख करिब १५ मिनेटपछि पुनः बैठक स्थलमा फर्किएका थिए। विवाद चर्किँदै गएपछि नगरप्रमुख न्यौपानेले बैठक चलाउन नसकिने अवस्था आएको भन्दै बैठक स्थगित गर्ने संकेतसमेत गरेपछि वडा अध्यक्ष आलेले “घुर्की लाउन पर्दैन” भन्दै आपत्ति जनाएका थिए।
पुनः सुचारू भएको बैठकमा वडा अध्यक्षले उठाएका माग र गुनासाका विषयमा सकारात्मक छलफल भएको र समाधानका लागि आवश्यक पहल गरिने वातावरण बनेको बताइएको छ।

यस सम्बन्धमा वडा अध्यक्ष बसन्त आलेसँग सम्पर्क गर्दा उनले पटक–पटक काममा ढिलासुस्ती हुँदा योजना समयमै सम्पन्न हुन नसक्ने, बजेट कार्यान्वयनमा समस्या आउने जस्ता अवस्था दोहोरिरहेकाले कार्यपालिका बैठकमै असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page