तनहुँ युनेस्को क्लबद्वारा वेदव्यास प्राविका विद्यार्थीलाई स्टेशनरी तथा जुत्ता–मोजा वितरण

तनहुँ, व्यास नगरपालिका–४ स्थित वेदव्यास प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई तनहुँ युनेस्को क्लबको आयोजनामा स्टेशनरी सामग्री तथा जुत्ता–मोजा वितरण गरिएको छ। विद्यार्थीहरूको शैक्षिक तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै क्लबले सहयोग कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा तनहुँ युनेस्को क्लबका अध्यक्ष सरोज भण्डारीले विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीसँगै जाडो मौसममा न्यानो रहन सहयोग पुर्याउने स्टेसनरी सामाग्री तथा जुत्ता–मोजा प्रदान गर्दै शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वका रूपमा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
युनेस्को क्लबका सचिव वसन्त जिसीले विपन्न तथा सहयोगको खाँचोमा रहेका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै समुदाय, विद्यालय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक सिता घिमिरेले युनेस्को क्लबप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सहयोगले विद्यार्थीहरूको पढाइप्रति उत्साह बढ्ने र विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीको समग्र विकासका लागि यस्ता सहयोग कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश्चन्द्र कार्कीले सामाजिक संघसंस्थाहरूको सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक , युनेस्को क्लवका पदाधिकारी एवम् सदस्यहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहयोग पाएपछि विद्यार्थीहरू खुशी देखिएका थिए। तनहुँ युनेस्को क्लबको यस पहललाई स्थानीय समुदायले सराहना गरेका छन्।


























