रास्वपा उपसभापति डा. स्वर्णीम वाग्ले चारदिने जिल्ला भ्रमणका लागि तनहुँ आउँदै

रास्वपा उपसभापति डा. स्वर्णीम वाग्ले चारदिने जिल्ला भ्रमणका लागि तनहुँ आउँदै


तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्ले चारदिने जिल्ला भ्रमणका क्रममा तनहुँ आउने भएका छन् । बालेन , रवि लामिछाने र कुलमान घिसिङबीचको सहकार्यपछि पहिलोपटक तनहुँ आउन लागेका वाग्लेले जिल्लाका विभिन्न स्थानमा स्थानीय नागरिक तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ । कार्यक्रमअनुसार पौष १६ गते बिहान ११ बजेदेखि १ बजेसम्म आँबुखैरेनीमा स्थानीयहरूसँग भेटघाट गर्नेछन् । त्यसपछि दिउँसो २ बजेदेखि ५ बजेसम्म बन्दिपुर–५ स्थित मर्स्याङ्दी रिसोर्टमा तनहुँ क्षेत्र नं. १ को बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। सोही दिन बेलुकी ६ बजे डुम्रेमा स्थानीयहरूसँग भेटघाट गर्ने तालिका तय गरिएको पार्टीका संगठन बिभाग प्रमुख अनिल श्रेष्ठले बताए ।
त्यसैगरी पौष १७ गते बिहान ९ बजेदेखि बन्दिपुर गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूमा पुगेर स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ भने बेलुकी ४ बजे बन्दिपुर वडा नं. ६ धरमपानीमा भेटघाट कार्यक्रम राखिएको छ।
त्यस्तै पौष १८ गते बिहान १०:३० बजे व्यास नगरपालिकामा स्थानीयहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए । दिउँसो १ बजे भानु नगरपालिका वडा नं. ८ मा आयोजना हुने वडा अधिवेशनमा सहभागी भई दिउँसो ३ बजेपछि भानु नगरपालिकाका विभिन्न वडाहरूमा स्थानीय नागरिकसँग वाग्लेले भेटघाट गर्ने तय भएको बताइएको छ ।

भ्रमणको अन्तिम दिन पौष १९ गते उपसभापति वाग्ले पोखरामा आयोजना हुने बृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् ।
जिल्ला संगठन विभागका अनुसार यो भ्रमणले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संगठन विभाग प्रमुख श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page