राधा मा वि मा SEE Boost Up तथा Motivational Class कार्यक्रम भव्य रूपमा सम्पन्न

राधा मा वि मा SEE Boost Up तथा Motivational Class कार्यक्रम भव्य रूपमा सम्पन्न


तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–२ स्थित राधा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको SEE Boost Up तथा Motivational Class कार्यक्रम २०८२ साल मंसिर १४ गते भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रशासनका अनुसार कार्यक्रम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको छ।
कार्यक्रममा प्रेरणात्मक वक्ता राम भक्त घिमिरेले परम्परागत भाषणभन्दा फरक, नवीन र व्यवहारिक शैली अपनाउँदै कक्षा सञ्चालन गर्नुभएको थियो। भिडियो प्रस्तुति, व्यवहारिक अभ्यास, ध्यान (मेडिटेसन) तथा जीवन उपयोगी उदाहरणहरूमार्फत सञ्चालन गरिएको कक्षाले विद्यार्थीहरूको मन, सोच र व्यवहारमा प्रत्यक्ष प्रभाव पारेको सहभागीहरूको भनाइ छ।
कार्यक्रमको मुख्य विशेषता औपचारिक भाषणभन्दा पनि विद्यार्थी केन्द्रित, मनोवैज्ञानिक तथा व्यवहार परिवर्तनमुखी सामग्री प्रस्तुत गर्नु रहेको थियो। तालिमका क्रममा विद्यार्थीहरूलाई ज्ञानसँगै मनोरञ्जनात्मक र भावनात्मक प्रस्तुति दिइएको थियो। हँसाउने–रुवाउने भावनात्मक क्षण, ध्यान अभ्यास तथा सकारात्मक सोच र आचरण विकासका सन्देशहरूले विद्यार्थीहरूलाई परीक्षाको तनाव व्यवस्थापन गर्न र आत्मविश्वास अभिवृद्धि गर्न ठूलो सहयोग पुगेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक अशोक चन्द्र वाग्ले र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यक्रम अत्यन्त सफल र प्रभावकारी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रेरणात्मक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


कार्यक्रमपछि विद्यार्थीहरूमा सिकेका कुराहरू व्यवहारमा उतार्ने उत्साह देखिएको छ। २०८२ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक प्रगति र मानसिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्‍याउने निष्कर्ष विद्यालय परिवारले निकालेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page