तनहुँमा जिल्लास्तरीय ‘पुनर्निर्माण नेपाल विज्ञान मेला–२०८२’ आयोजना हुँदै

तनहुँमा जिल्लास्तरीय ‘पुनर्निर्माण नेपाल विज्ञान मेला–२०८२’ आयोजना हुँदै


तनहुँ, माघ — विज्ञान शिक्षक समाज नेपाल, व्यास नगर समितिको आयोजनामा तथा निर्मल माध्यमिक विद्यालयको सह–आयोजनामा तनहुँ जिल्लास्तरीय ‘पुनर्निर्माण नेपाल विज्ञान मेला–२०८२’ आयोजना हुने भएको छ। उक्त विज्ञान मेलाको पुरस्कार प्रायोजन पुनर्निर्माण नेपाल शिक्षा प्रतिष्ठानले गर्ने जनाएको छ।
माध्यमिक तह (कक्षा ८ देखि १०) मा अध्ययनरत विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानशीलता, नवप्रवर्तन र सृजनशील क्षमताको विकास गर्ने उद्देश्यले यो विज्ञान मेला आयोजना गर्न लागिएको हो। मेलामा तनहुँ जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जानकारी दिएका छन्। विद्यालय तहमै व्यवहारिक तथा प्रयोगात्मक विज्ञान शिक्षालाई प्रवर्द्धन गर्नु मेलाको मुख्य लक्ष्य रहेको छ।
विज्ञान मेलामा सहभागी उत्कृष्ट परियोजनाहरूलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ। पुरस्कार विवरणअनुसार प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ, तृतीयले २० हजार रुपैयाँ र चतुर्थले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
विज्ञान मेला २०८२ साल माघ ८ गते बिहान १० बजेदेखि व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयमा आयोजना हुनेछ।


विज्ञान शिक्षक समाज नेपाल, व्यास नगर समितिका अध्यक्ष सुनील पौडेलका अनुसार यस्ता शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई अनुसन्धानमुखी बनाउनुका साथै स्थानीय तहमा विज्ञान शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रमसम्बन्धी थप जानकारी आवश्यक परेमा आयोजक संस्थासँग सम्पर्क गर्न सकिने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page