पञ्चमुनि माविमा पाँचवटा तातोपानी डिस्पेन्सर हस्तान्तरण

तनहुँ ।माघ ७- रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सूर्योदय क्लबको व्यवस्थापनअन्तर्गत सञ्चालित बालिका शिक्षा कार्यक्रमको विशेष पहलमा पञ्चमुनि माध्यमिक विद्यालयलाई पाँचवटा तातोपानी डिस्पेन्सर मेसिन हस्तान्तरण गरिएको छ।
नेपालका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको बालिका शिक्षा कार्यक्रम तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेको पञ्चमुनि माध्यमिक विद्यालयमा पनि सञ्चालन हुँदै आएको छ। यस कार्यक्रमको मुख्य उद्देश्य बालिकाहरूलाई पढाइमा निरन्तरता दिन सहयोग गर्नुका साथै उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नु रहेको छ। साथै, शैक्षिक गतिविधिसँगै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पनि कार्यक्रमको प्रमुख लक्ष्य हो।
बालिकाहरू महिनावारीको समय तथा बिरामी भएको अवस्थामा सहज रूपमा तातोपानी पिउन सकून् र विद्यालय नियमित रूपमा उपस्थित हुन सकून् भन्ने उद्देश्यका साथ उक्त पहल गरिएको हो। जाडो मौसममा स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विद्यालयका २०६५ सालको एसएलसी ब्याचद्वारा पाँचवटा तातोपानी डिस्पेन्सर मेसिन विद्यालयलाई हस्तान्तरण गरिएको हो।

विद्यालय प्रशासनले उक्त सहयोगले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी निकाय तथा पूर्वविद्यार्थीप्रति धन्यवाद ज्ञापन गरेको छ।


























