सातौँ व्यास नगर व्याडमिन्टन प्रतियोगिता सम्पन्न , राम र कृष्णको जाेडी प्रथम
व्यास, तनहुँ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको सातौँ व्यास नगर व्याडमिन्टन प्रतियोगिता २०८२ माघ ५, ६ र ७ गते व्यास नगरमा सफलतापूर्वक सम्पन्न भएको छ।
व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष खुला ब्याडमिन्टन अन्तर्गत B–स्तर, C–स्तर र D–स्तरका खेलहरू सञ्चालन गरिएको थियो। प्रतियोगितामा व्यास नगरसहित काठमाडौं, धादिङ, लमजुङलगायत विभिन्न जिल्लाका खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
B–स्तरतर्फ राम मल्ल ठकुरी र कृष्ण सलामी (धादिङ) को जोडीले प्रथम स्थान हासिल गरेको छ। विश्वास विक र विपिन घले (व्यास नगर) दोस्रो स्थानमा रहे भने बुद्धिमान प्रधान–सागर थापा तथा हरि केसी र जाेन(काठमाडौं) संयुक्त तेस्रो भएका छन्।
यस्तै प्रतियोगितामा C–लेभलतर्फ ईश्वर भट्ट र आयुष मगर (धादिङ) ले प्रथम स्थान हात पारे। रोहित गुरुङ र सुभाष श्रेष्ठ (लमजुङ) दोस्रो स्थानमा रहँदा मिलन गैरे र नरेन्द्र भण्डारी (व्यास नगर) तथा टेकबहादुर कार्की–विक्रमको जोडी संयुक्त तेस्रो भएका छन्।

यस्तै D–स्तरतर्फ सनम राना र युद्ध रानाको जोडी प्रथम भयो। रामकृष्ण क्षेत्री र गणेश दरै दोस्रो स्थानमा रहँदा कर्ण गुरुङ–ललित बहादुर श्रेष्ठ (व्यास व्याडमिन्टन) तथा अमर गुरुङ–देव थापा संयुक्त तेस्रो भएका छन्।
विजयी खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा व्यास नगर प्रमुख श्री वैकुण्ठ न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा नगर उप–प्रमुख, वडा अध्यक्षहरू, खेलकुद विकास समिति प्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम सञ्चालन कृष्णराज घिमिरे, सचिव, व्यास नगर व्याडमिन्टन क्लबले गर्नुभएको थियो। वक्ताहरूले यस्ता प्रतियोगिताले नगरमा खेलकुदको विकास र युवाहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्।

























