तनहुँमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापना गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा आज मिति २०८२/१०/०७ गते भानु नगरपालिकाको सभाहल फुस्रेटारमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी नागरिकहरूले नगरपालिकाभित्र सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने प्रवृत्ति बढेकाले दुर्घटनाको जोखिम उच्च भएको, यात्रुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने तथा पालिकाले निर्धारण गरेको भाडादरको प्रभावकारी निगरानी गर्नुपर्ने सुझाव दिएका थिए। साथै चोरी, डकैती, जुवातास लगायतका आपराधिक गतिविधि तथा युवाहरूमा लागुऔषध दुर्व्यसनको सङ्ख्या बढ्दै गएकोप्रति पनि उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले नागरिक सुनुवाइ कार्यक्रमले सेवाग्राही र सेवा प्रदायक संस्थाबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बताउँदै यसले सुशासन, पारदर्शिता र जवाफदेहिताको अनुभूति गराउने उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा भानु नगरपालिकाकी उप-प्रमुख उमा गोतामे, विशिष्ट अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज पौडेलको उपस्थिति रहेको थियो। साथै नगरपालिकाका वडाध्यक्षहरू, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, व्यापारी, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

























