शुक्लागण्डकीमा तीन जनाको धारिलो हतियार प्रहार गरी हत्या घटनामा एक जना पक्राउ
तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदी किनार नजिक तीन जनाको शव फेला परेको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुस २६ गते बिहान करिब ९ः३० बजे शुक्लागण्डकी फोहोर प्रशोधन केन्द्रबाट करिब २०० मिटर दक्षिण–पूर्व बगर क्षेत्रमा रहेको अस्थायी छाप्रोभित्र अन्दाजी ५५ वर्षका नाम, थर र वतन नखुलेका एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। सोही छाप्रो बाहिर अन्दाजी ३९ वर्षका नारायण बि.क.को पनि हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
त्यसै दिन दिउँसो करिब १ बजे घटनास्थलबाट करिब १.५ किलोमिटर दक्षिण–पूर्व कसेरीघाट नजिक अन्दाजी ५८ वर्षीया देउमाया थापाको शव पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो।
घटनापछि तालिमप्राप्त कुकुर, SOCO टोली, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा केन्द्रीय विधिविज्ञान प्रयोगशालाका विज्ञसहितको टोलीले गहन अनुसन्धान गरेको थियो। शवहरूको प्रदेश अस्पताल दमौलीमा पोस्टमार्टम गरिएको छ।
मृतक देउमाया थापा र नारायण बि.क.को शव आफन्तको जिम्मा लगाइएको छ भने पहिचान नखुलेका पुरुषको शव सनाखतका लागि शवगृहमा सुरक्षित राखिएको छ।
घटनामा संलग्न रहेको आशंकामा शुक्लागण्डकी नगरपालिका–५ बसोबास गर्ने अन्दाजी ४६ वर्षका कुमार नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँ जिल्ला अदालतबाट ७ दिनको हिरासत म्याद थप भई इलाका प्रहरी कार्यालय बेलचौताराबाट थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा चक्कु, चप्पल, सल, शंकितले प्रयोग गरेको कपडालगायतका प्रमाण संकलन गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























