कांग्रेसविरुद्धको षडयन्त्र चिर्न कांग्रेसको जीत अपरिहार्य : उम्मेदवार भण्डारी
दमौली, १५ माघ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ का उम्मेदवार शंकर भण्डारीले कांग्रेस बदलिएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । कांग्रेसको यो परिवर्तनले आम नागरिकमा नयाँ ऊर्जा र आशा सञ्चार भएको उनको भनाइ छ ।
बुधबार नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ द्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उम्मेदवार भण्डारीले देशी–विदेशी शक्तिहरूबाट कांग्रेसविरुद्ध षडयन्त्र भइरहेको दाबी गरे । उनले ती षडयन्त्रलाई चिर्न कांग्रेसको जित अपरिहार्य रहेको बताए ।
२०७९ सालको निर्वाचनमा विजयी भएपछि आफूले तनहुँ क्षेत्र नं. २ मा वर्षौंदेखि अलपत्र परेका विकास निर्माणका योजनाहरूको सुरुवात गर्नुका साथै नयाँ योजनाका लागि बजेट सुनिश्चित गरेको भण्डारीको भनाइ थियो । आफ्नो कार्यकाल अझै अधूरो रहेको र सोचेजति काम गर्न नसकिएको स्वीकार गर्दै उनले ती कार्यलाई निरन्तरता दिन पुनः जिताउन मतदातासँग आग्रह गरे ।
निर्वाचनको समयमा मतदातालाई भ्रममा पार्ने प्रयास विभिन्न राजनीतिक दल तथा उम्मेदवारबाट हुने उल्लेख गर्दै उनले मतदाताहरू सजग र सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सभापति जीतप्रकाश आले, पूर्व सभापति रघुनाथ पौडेल, समानुपातिक उम्मेदवार इन्दिरा खनाल, गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे वि.क. लगायतले मन्तव्य राखेका थिए ।

बैठकमा सहभागीहरूले निर्वाचन अभियानलाई अझ सशक्त र प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।


























