वित्तीय साक्षरताले विद्यार्थीमा बचत गर्ने बानी विकास
दमौली — ग्रीन डेभलपमेन्ट बैंक दमौली शाखाको आयोजनामा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी सप्ताह २०२६ को अवसरमा बालबालिका तथा युवा वर्गलाई पैसाको सही सदुपयोग, बचत गर्ने तरिका, लगानी र सही वित्तीय निर्णय लिने प्रक्रियाबारे सचेत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बालबालिका तथा युवा वर्गलाई पैसाको सही सदुपयोग, बचत गर्ने तरिका, लगानी तथा विवेकपूर्ण वित्तीय निर्णय लिन सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत करिब १५० जना छात्राहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदिप न्यौपानेले बैंकिङ प्रणाली, आर्थिक व्यवस्थापन तथा वित्तीय अनुशासनको महत्वबारे सहजीकरण गर्नुभयो। उहाँले सानै उमेरदेखि वित्तीय साक्षरता र अनुशासन अपनाउन सके भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो।
त्यसैगरी कार्यक्रममा डिजिटल मोबाइल बैंकिङ सेवाको प्रयोग, यसको आवश्यकता र फाइदाबारे प्रयोगात्मक रूपमा जानकारी गराइएको थियो। सहभागी विद्यार्थीहरूले पैसाको बचत किन र कसरी गर्ने भन्ने विषयमा स्पष्ट ज्ञान हासिल गरेको तथा डिजिटल बैंकिङमार्फत आर्थिक कारोबार गर्दा हुने सहजता र सुरक्षा सम्बन्धी जानकारी पाएको प्रतिक्रिया दिएका छन्।
विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई भविष्यमा आर्थिक रूपमा सक्षम बन्न, चुनौतीहरूको सामना गर्न तथा सानै उमेरदेखि बचत गर्ने बानी बसाल्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

रूमटुरिडकाे सहकार्यमा भएको कार्यक्रममा रूम टु रिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे, कलावती विमली लगायतको समेत सहभागिता रहेको थियो।
सन् २०१२ देखि सञ्चालन हुँदै आएको Global Money Week विश्वव्यापी वित्तीय साक्षरता अभियान हो, जुन सन् २०२६ मा मार्च १६ देखि २२ तारिखसम्म मनाइँदैछ। यस वर्षको मूल नारा “Smart Money Talks” रहेको छ, जसले पैसासम्बन्धी ज्ञान, खुला छलफल र सही निर्णय क्षमताको विकासमा जोड दिएको छ।


























