बन्दीपुर केवलकार परिसर प्रवेश टिकट प्रणाली स्थगित
बन्दीपुर केवलकार सञ्चालन गर्ने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले केवलकार परिसर प्रवेशका लागि लागू गरिएको टिकट प्रणाली हालका लागि स्थगित गरेको जनाएको छ।
कम्पनीका अनुसार सेवा प्रवाहलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले २०८२ साल असोज १ गते (१७ सेप्टेम्बर २०२५) देखि परिसर प्रवेशमा रु. ५० बराबरको टिकट प्रणाली लागू गरिएको थियो। उक्त टिकटलाई बन्दीपुरहिल परिसरभित्र उपलब्ध सेवा वा सामग्री खरिद गर्दा नगद सरह प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको थियो।
तर सेवाग्राहीहरूको सहजता अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले सो व्यवस्था पुनरावलोकन गर्दै २०८२ चैत ५ गते (१९ मार्च २०२६) देखि अर्को सूचना जारी नभएसम्मका लागि टिकट प्रणाली पूर्ण रूपमा स्थगित गर्ने निर्णय गरेको हो।

कम्पनीले यस निर्णयले सेवाग्राहीहरूलाई अझ सरल, सहज र सेवामैत्री अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनमा थप उत्कृष्ट र गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको पनि जनाएको छ।

























