तनहुँका सरकारी कार्यालयमा हाकिमहरूकाे ‘गोप्य सर्कुलर’ “दायाँबायाँ गरे कसैलाई बचाउन सकिँदैन!”

तनहुँका सरकारी कार्यालयमा हाकिमहरूकाे ‘गोप्य सर्कुलर’ “दायाँबायाँ गरे कसैलाई बचाउन सकिँदैन!”

दमौली। तनहुँका सरकारी कार्यालयहरूमा एकाएक कडाइ बढेको छ। संघीय सरकारको नयाँ कार्यशैलीसँगै स्थानीय तहसम्म प्रशासनिक अनुशासन कसिँदै गएको संकेत देखिएको छ।
सोमबारदेखि लागू हुने गरी कर्मचारीहरूलाई बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य रूपमा कार्यस्थलमा खटिन निर्देशन आएपछि तनहुँका विभिन्न कार्यालयहरूमा आन्तरिक बैठक धमाधम बसेका छन्। ती बैठकहरूमा कार्यालय प्रमुखहरूले केन्द्रबाट आएको निर्देशन र पछिल्लो परिस्थितिबारे जानकारी गराउँदै कडा सन्देश दिएका छन्।
स्रोतका अनुसार अब “खाजाको नाममा काम रोकिने” पुरानो चलन पूर्ण रूपमा अन्त्य गर्ने निर्णय गरिएको छ। कर्मचारीहरूले पालैपालो सिफ्ट मिलाएर खाजा खानुपर्नेछ, तर सेवाग्राहीको काममा कुनै अवरोध आउन नदिन कडा निर्देशन दिइएको छ।
तर सबैभन्दा चासोको विषय भनेको—ढिलासुस्ती, लापरवाही वा ‘ल्याङ्गलुङ्ग’ गर्ने कर्मचारीलाई सिधै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी गरिने चेतावनी हो। केन्द्रबाटै यस्तो सन्देश आएपछि कर्मचारीहरूमा त्रास र सतर्कता दुवै बढेको बताइएको छ।
नाम नबताउने सर्तमा एक कर्मचारीले भने,
“अब पहिले जस्तो सहज अवस्था छैन। हाकिमहरूले स्पष्ट भन्नुभएको छ—दायाँबायाँ भयो भने कसैलाई जोगाउन सकिँदैन। सबैले समय, अनुशासन र जिम्मेवारी कडाइका साथ पालना गर्नुपर्छ।”
ती कर्मचारीका अनुसार यो निर्देशन औपचारिक पत्रभन्दा बढी ‘गोप्य सर्कुलर’कै रूपमा फैलिएको छ, जसले कर्मचारीबीच दबाबपूर्ण वातावरण सिर्जना गरेको छ।


पछिल्लो समय विभिन्न सरकारी निकायहरूमा अनुगमन र कारबाही तीव्र बन्दै गएपछि तनहुँका कार्यालयहरूमा समेत यसको असर देखिन थालेको छ। कतिपय कार्यालयहरूमा उपस्थितिदेखि सेवा प्रवाहसम्म कडा निगरानी सुरु भइसकेको स्रोतको दाबी छ। एक कार्यालय प्रमुखले त आफ्ना कर्मचारीलाई बिचाैलिया सँग उठबस नै बन्द गर्न र संकास्पद गतिविधि तथा लामो हात नगर्न भनेर स्पस्ट बताएको र केही भएमा त्यसको जिम्मेवारी स्वयं हुने बताएको जानकारी दिएका छन् ।
यद्यपि, सम्बन्धित निकायहरूले यसबारे औपचारिक धारणा सार्वजनिक नगरे पनि भित्रभित्रै प्रशासनिक कडाइ उच्च स्तरमा पुगेको संकेतहरू देखिन थालेका छन्। अब यो कडाइले सेवा प्रवाहमा सुधार ल्याउने सेवाग्राहीमा आशा पलाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page