एसपी टेकबहादुर कार्कीको सक्रियता : फरार प्रतिवादी पक्राउ अभियान तिव्र
दमौली — जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्कीको सक्रिय नेतृत्वमा फरार प्रतिवादी पक्राउ अभियान तीव्र बनेको छ। वैशाख ७ गते सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका १२ जना प्रतिवादीलाई प्रहरीले भटाभट पक्राउ गरी कानुनी दायरामा ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत युनिटबाट खटिएको टोलीले १४ वटा मुद्दासँग सम्बन्धित फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये ७ वटा चेक अनादर मुद्दाका ६ जना, २ वटा जालसाजी मुद्दाका १ जना, सरकारी छाप किर्ते मुद्दाका १ जना, सार्वजनिक अपराध मुद्दाका १ जना, गाली बेइज्जती मुद्दाका १ जना, सम्बन्ध बिच्छेद मुद्दाका १ जना तथा हाडनाता करणी मुद्दाका १ जना रहेका छन्।
एसपी कार्कीको निर्देशन र निगरानीमा सञ्चालन गरिएको फरार प्रतिवादी खोजी अभियान प्रभावकारी बन्दै गएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला अदालत तनहुँमा पेश गरिएको र काेही पनि तोकिएको जरिवाना तिरेर छुटेका छैनन्।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा कानुनी शासनलाई मजबुत बनाउन यस्ता अभियानलाई निरन्तरता दिइने एसपी कार्कीले बताएका छन्।


























