भवन क्षतिपछि तनहुँ प्रशासनको नयाँ उपाय: दुई स्थानबाट सेवा प्रवाह

भवन क्षतिपछि तनहुँ प्रशासनको नयाँ उपाय: दुई स्थानबाट सेवा प्रवाह

जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सेवा प्रवाहलाई सहज बनाउन दुई फरक स्थानबाट सेवा सञ्चालनमा ल्याएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा ठूलो क्षति पुगेपछि सीमित स्थानबाट सेवा दिँदै आएको प्रशासनले सोमबारदेखि थप एक स्थानबाट सेवा सुरु गरेको हो।
अब साविककै प्रशासनिक भवन र साविकको सामाजिक विकास कार्यालयको भवनबाट छुट्टाछुट्टै सेवा प्रदान गरिने व्यवस्था मिलाइएको छ। प्रशासनका अनुसार पुरानो भवनबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह गरिनेछ भने शान्ति–सुरक्षा लगायत अन्य प्रशासनिक सेवा सामाजिक विकास कार्यालयमा स्थापना गरिएको नयाँ शाखाबाट उपलब्ध हुनेछ।
यसअघि गण्डकी प्रदेश सरकारले सामाजिक विकास कार्यालय तथा घरेलु, पर्यटन तथा उद्योग कार्यालयलाई एकीकृत गरी एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याएको थियो। हाल उक्त कार्यालय अन्यत्र सारिएपछि खाली भएको सामाजिक विकास कार्यालयको भवन प्रशासनले प्रयोगमा ल्याएको हो।
सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले भवनमा क्षति र कार्यकक्ष अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताउँदै नयाँ व्यवस्थापनले सेवाग्राहीलाई थप सहजता मिल्ने विश्वास व्यक्त गरे।


आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन जिल्ला सभाहलका कोठाबाट हुँदै आएको थियो। नयाँ व्यवस्थासँगै जीर्ण भवनमा परेको चाप घट्ने र सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page