भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न


तनहुँ — भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयको आयोजनामा तथा विभिन्न निकायहरूसँगको समन्वयमा यस हप्ता पशुपालन तथा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित विविध महत्वपूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
कृषकहरूको सीप तथा उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृषकस्तरमा तीन दिने मत्स्यपालन तालिम सञ्चालन गरिएको छ। सोही क्रममा मत्स्यपालक कृषकहरूलाई आवश्यक भुरा वितरण समेत गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को समन्वयमा पशु स्वास्थ्य तथा सेवा प्राविधिकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
प्राविधिक पृष्ठपोषणलाई सुदृढ बनाउन व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकामा रहेका व्यवसायिक पशुपालन फर्म, दुग्ध सहकारी संस्था तथा दुग्ध संकलन केन्द्रहरूको प्राविधिक समूहद्वारा अनुगमन (Technical Group Monitoring) गरिएको छ।
त्यस्तै राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबर्द्धन कार्यालय, हरिहरभवनसँगको समन्वयमा पशु सेवाकर्मीहरूलाई असल अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ।
स्थानीय तहका पशु सेवा शाखाहरूसँग समन्वयात्मक बैठक तथा प्रगति समीक्षा बैठक समेत सम्पन्न भएको कार्यालयले जनाएको छ।
यसैबीच Heifer Project Nepal र कार्यालयको संयुक्त आयोजनामा स्थानीय प्राविधिकहरूका लागि कृत्रिम गर्भाधान सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ, जसले पशुपालन क्षेत्रमा प्राविधिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार कार्यालयले पछिल्ला दिनहरूमा समन्वयात्मक, व्यवहारिक र परिणाममुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। उनले यस्ता कार्यक्रमहरूले पशुपालन तथा मत्स्यपालन क्षेत्रको व्यवसायिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page