म्याग्देमा कांग्रेसको “जरा अभियान”बारे छलफल, खेलकुद तथा संस्कृतिमा योगदान गर्ने व्यक्तित्व सम्मानित
म्याग्दे, तनहुँ — नेपाली कांग्रेस म्याग्दे गाउँ कार्यसमितिको आयोजनामा जामुनेस्थित बिपी स्मृति भवनमा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान, बजेट माग तथा क्रियाशील सदस्यता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम गाउँ कार्यसमितिका सभापति रामभक्त घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपसभापति पुष्पराज खनालले व्यक्त गरेका थिए। कार्यक्रममा अधिकांश वक्ताहरूले नेपाली कांग्रेसको “जरा अभियान”बारे धारणा राख्दै संगठनलाई वडा तहदेखि थप सुदृढ र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा वडा सभापतिहरू, नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू,सल्लाहकार सदस्यहरू तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा विन्दु खनाल, साविक जामुने गाविसका पूर्व सभापति हरीबहादुर रानाभाट, नेता पूर्णचन्द्र घिमिरे, मनिराज थापा मगर, संविधान संशोधन विज्ञ यदुनाथ खनाल तथा जरा अभियानका केन्द्रीय प्रतिनिधि एवं महासमिति सदस्य गणेश सापकोटालगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा फुटबल खेलकुदको प्रवर्द्धन तथा विकासमा योगदान पुर्याएको भन्दै दुर्गाराज थापालाई सम्मान गरिएको थियो। त्यस्तै कराते खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका मनिराज थापालाई साथै राष्ट्रिय मौलिक कौरा संरक्षण समिति केन्द्रीय अध्यक्षमा निर्वाचित भएको अवसरमा नरमाया थापालाई बधाई तथा सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय विकास, बजेट व्यवस्थापन तथा पार्टी सदस्यता विस्तारका विषयमा समेत गहन छलफल भएको नेपाली काङ्ग्रेस म्याग्देका सभापति घिमिरेले जानकारी दिए ।


























