व्यास नगरको आइतबार विद्यालय सञ्चालन निर्णयप्रति शिक्षक राजिव श्रेष्ठका जिज्ञासा र प्रश्नहरू

व्यास नगरको आइतबार विद्यालय सञ्चालन निर्णयप्रति शिक्षक राजिव श्रेष्ठका जिज्ञासा र प्रश्नहरू

व्यास नगरपालिका शिक्षा शाखाको हालैको निर्णयअनुसार आइतबार विद्यालय सञ्चालन गरिएको विषयले शिक्षकहरूबीच व्यापक जिज्ञासा, असन्तुष्टि र अन्योल सिर्जना गरेको छ। यही सन्दर्भमा शिक्षक राजीव श्रेष्ठले शिक्षा प्रशासन समक्ष आफ्ना धारणाहरू र प्रश्नहरू सार्वजनिक रूपमा राख्दै सूचना, पारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।
उहाँका अनुसार, विद्यालयहरूबाट स्पष्ट र विश्वसनीय सूचना नआएकाले “सूचना खाडल” सिर्जना भएको छ। यही कारणले शिक्षा शाखाबाट वैशाख २ गते जारी गरिएको विज्ञप्तिको स्पष्ट बुझाइ र व्याख्या नहुँदा त्यसले आइतबारको बिदा कार्यान्वयनमा अन्योल भएको उहाँको भनाइ छ। संघीय सरकारको निर्णय पछी चैत २९ गते आइतबार र बैशाख २ गते पछी बैशाख ६ गते आइतबार बिदा कार्यान्वयन गरिएको तर बिना नयाँ निर्णय र सुचना बैशाख १३ गते अकस्मात् विद्यालय खोलिएकोमा असन्तुष्टी व्यक्त गर्नुभएको छ।
उहाँले कर्मचारी र शिक्षकबीचको व्यवहारमा विभेद भएको आरोप लगाउँदै संघीय सरकारले शनिबार र आइतबार दुवै दिन बिदा दिएको अवस्थामा व्यास नगरपालिकाले शनिबार मात्र बिदा दिई आइतबार विद्यालय खोल्ने निर्णय गर्नु राज्यकै निर्देशन विपरीत भएको उल्लेख गर्नुभएको छ।
उहाँले अझ गम्भीर रूपमा सोध्नुहुन्छ- “नेपाल सरकारले राजपत्रमै उल्लेख गरेर सबै कर्मचारी र शिक्षकलाई दिएको समान बिदा शिक्षकहरूको लागि मात्र कटौती गर्नुपर्ने स्पष्ट आधार र कारण के हो? विद्यालय खोल्ने निर्णय कुन आधारमा आधारमा गरिएको हो?”
आइतबार विद्यालय सञ्चालनको आवश्यकता प्रस्ट नपार्दा बैशाख २ गतेको विज्ञप्तिमा स्पष्टरुपमा आइतबार विद्यालय बिदा नहुने र विद्यालय संचालन गर्ने भन्ने स्पष्ट नहुँदा आम शिक्षकको बुझाइमा “हामीलाई त हेडसरको रहरमा विद्यालय खोलिएको जस्तो महसुस भएको थियो तर पछी फेरी शिक्षा शाखाको म्यासेजको हल्ला आएको छ।” यसले शिक्षा शाखाको गरिमामाथि प्रश्न उठाएको उहाँको आरोप छ।
उहाँले आफु विद्यालयको म्यासेन्जर समूहमा आएको एक सन्देशको भरमा आइतबार विद्यालय जानुपरेको गुनासो व्यक्त गर्नुभएको छ। उहाँले अगाडी उल्लेख गर्नुभएको छ, स्पष्ट नबुझेरै भए पनि वैशाख १३ गतेको विद्यालय संचालनको कार्यक्रम सफल बनाउन शिक्षकहरू विद्यालयमा उपस्थित भएर सहयोग गरेको उहाँले बताउनु गर्नुभएको छ। शिक्षकहरूले आफुहरूलाई अपहेलित महसुस भएको हुनाले विद्यालयमा शिक्षकहरूले अन्य दिन झै खुसीसाथ मन खोलेर कक्षा संचालन गर्न नसकेको अनुभूति समेत उहाँले व्यक्त गर्नुभएको छ। कक्षाकोठामा विद्यार्थी थुनेर मात्रै विद्यालय संचालन भएको छ भनेर मान्न नसकिने उहाँको तर्क छ। यसै बिच, निर्मल माविका शिक्षकहरूले आइतबार अपरान्ह छलफल गरी यस्तो शिक्षकप्रति लादिएको मनपरी शैलीले “आफु आमशिक्षकहरूलाई अपहेलित गरिएको महसुस भएको” संदेश सम्बन्धित निकायसम्म पुर्याउन विद्यालय प्रशासनसंग अनुरोध गरिएको उल्लेख गर्नुभएको छ।
उहाँले निर्णयको आवश्यकता र औचित्य स्पष्ट रूपमा बुझाइए आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको जनाउनुभएको छ। तर, “हामीले जे भने पनि शिक्षकले मान्नुपर्छ” भन्ने मानसिकताले अघि बढेमा शिक्षकहरूले असहयोग गर्न सक्ने चेतावनी समेत उहाँले दिनुभएको छ। यस्तो अवस्थामा शिक्षा शाखाको गरिमा कहाँ पुग्ला भनेर प्रश्न गर्नुभएको छ।
साथै, आइतबार विद्यालयमा कुनै समस्या परेमा शिक्षा शाखासँग कसरी समन्वय गर्ने भन्ने अन्योल रहेको उहाँको भनाइ छ, किनकि सो दिन स्वयं शिक्षा शाखा बन्द हुने गर्दछ। अझ गम्भीर कुरा, गाउँका विद्यालयमा आइतबार विद्यार्थी घाइते भए के गर्ने? किनकी नजिकैको स्वास्थ्य संस्था बिदाले बन्द छ। उपचार नपाएर विद्यालयमा वा विद्यालय जाँदै गर्दा शिक्षक विद्यार्थी दुर्घटना भवितव्यमा परे यसको जवाफदेही को हुने? उहाँको प्रश्न छ।
अभिभावकको गुनासोलाई आधार बनाएर विद्यालय खोलिएको भए अन्य सेवा क्षेत्रमा आइतबार सेवाको मागको आधारमा त्यस्तै व्यवहार किन लागू हुँदैन भन्ने प्रश्न पनि उहाँले उठाउनुभएको छ। “यदि जनताले सेवा मागे शिक्षा शाखा आफैं आइतबार खोलिन्छ कि खोलिँदैन?” उहाँले प्रश्न गर्नुभएको छ।”
निजी विद्यालयहरूको मनपरीमा नियमन र नियन्त्रणमा कमजोरी रहेको भन्दै उहाँले सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धाको नाममा बाध्य बनाइएको आरोप लगाउनुभएको छ। निजीसंग प्रतिस्पर्धी विद्यालय खुलेपछि अरूलाई पनि बाध्य भएर खोल्नुपर्ने अवस्था सिर्जना गरिएको छ,” उहाँको भनाइ छ। यसले विशेषगरी गाउँ क्षेत्रका विद्यालयहरूमा थप दबाब परेको उहाँले बताउनुभएको छ। व्यास नगरपालिकाभित्र कै विद्यालय बस भएका सामुदायिक विद्यालय आइतबार बिदा रहेको प्रसङ्गमा विद्यालय खुल्ने मापदण्ड स्कुल बस रहेछ भनेर आश्चर्य व्यक्त गर्नुभएको छ।

अन्त्यमा, उहाँले शिक्षा शाखा र शिक्षक दुवै राज्यका सेवक भए पनि व्यवहारमा देखिएको असमानता र निर्णय प्रक्रियाको अपारदर्शिताले विश्वासमा असर परेको उल्लेख गर्दै आगामी आइतबारको स्पष्ट निर्णय र सूचना तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।
यसरी शिक्षक राजिव श्रेष्ठले राखेका प्रश्नहरूले व्यास नगरपालिकाको शिक्षा व्यवस्थापन, निर्णय प्रक्रिया र शिक्षक–प्रशासन सम्बन्धमा गम्भीर बहसको आवश्यकता देखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page