प्रशासनिक भवन सञ्चालनमा ल्याउँदै आदिकवि भानुभक्त क्याम्पस
तनहुँ । आदिकवि भानुभक्त क्याम्पस निर्माण एवं उपभोक्ता समितिको बैठक बुधबार क्याम्पसको नवनिर्मित प्रशासनिक भवनमा सम्पन्न भएको छ। समितिका संयोजक क्याप्टेन सोमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ १ गतेदेखि प्रशासनिक भवन सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
बैठकले चालु आर्थिक वर्षमा व्यास नगरपालिकाबाट प्राप्त १९ लाख ६५ हजार रुपैयाँ आर्थिक अनुदान सहयोगमा कम्प्युटर खरिदका लागि विद्युतीय बोलपत्र आह्वान गर्ने निर्णय समेत गरेको छ।
त्यसैगरी भवनलाई थप सुविधा सम्पन्न बनाउन क्याम्पसको स्रोतबाट सिसिटिभी क्यामेरा, ल्यान्डलाइन टेलिफोन तथा इन्टरनेट, पर्दा, भित्ते घडी, डोर म्याट र वाटर डिस्पेन्सर खरिद तथा जडान गर्ने निर्णय गरिएको छ।

भवनको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मूल गेटमा फलामको च्यानल गेट जडान गर्ने, प्रवेशद्वारमा रिसेप्सन कक्ष निर्माण गर्ने तथा सेफ्टी ट्याङ्की निर्माण गर्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।


























