म्याग्देमा स्थानीय उत्पादन प्रवर्द्धन मेला सुरु, ७ सय ग्रामको करेला आकर्षण


तनहुँ,
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आजदेखि स्थानीय उत्पादन तथा उद्यम प्रवर्द्धन मेला सुरु भएको छ । वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (GEEP) कार्यक्रम अन्तर्गत दायित्वकाे सहकार्यमा आयोजित “म्याग्दे उद्यम प्रवर्द्धन मेला” मा स्थानीय कृषक तथा उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शन गरिएको हो ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा, गाउँपालिका तथा वृद्धिमुखी अन्तर्गत दायित्वकाे सहकार्यमा आयोजित मेलाको उद्घाटन गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मणिभद्र वाग्ले लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
मेलामा स्थानीय स्तरमा उत्पादन भएका तरकारी, फलफूल, लोकल कुखुरा, केराउ, रैथाने बाली, बोका–खसी लगायत महिलाले सिपमूलक तालिममार्फत तयार गरेका विभिन्न सामग्री प्रदर्शनमा राखिएको छ । साथै गाउँपालिकाभित्र सञ्चालनमा रहेका होमस्टेहरूले पनि आफ्नै उत्पादनका अर्गानिक परिकार, अचार, स्थानीय खाद्यान्न तथा घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गरेका छन् ।
चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले उत्पादन गरेको ७०० ग्राम तौलको करेला मेलाको विशेष आकर्षण बनेको छ । मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउँदै कृषक तथा उद्यमीलाई उत्पादनसँगै बजारीकरणमा पनि सक्रिय हुन आग्रह गरे । उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले महिला उद्यमशीलता, कृषि उत्पादन र घरेलु उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार स्थानीय उत्पादनलाई बजारीकरण गर्दै कृषक तथा महिलालाई आम्दानीसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । मेड्पा कार्यक्रम अन्तर्गत वडा नं. १ मा सिप सिकेका महिलाले उत्पादन गरेका सामग्रीको बिक्री वितरणसँगै आफ्नो सीप प्रदर्शनसमेत गरेका छन् ।

मेलामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार मेला कार्यक्रम आगामी जेठ ४ गते वडा नं. २ जामुनेमा सञ्चालन गरिनेछ ।


























