आदिकवि भानुभक्त क्याम्पसद्वारा खानेपानी ट्याङ्की निर्माणका लागि बजेट माग

तनहुँस्थित आदिकवि भानुभक्त क्याम्पस काे एक प्रतिनिधि मण्डलले गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपाने सँग भेटघाट गर्दै क्याम्पसको ओभरहेड खानेपानी ट्याङ्की निर्माण योजनाका लागि बजेट व्यवस्था गर्न आग्रह गरेको छ ।
२०८३ वैशाख ५ गते मंगलबार पोखरास्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय ड्यामसाइटमा भएको भेटमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा योजना समावेश गरिदिन अनुरोध गर्दै क्याम्पसका तर्फबाट आवेदन पेश गरिएको थियो ।
प्रतिनिधि मण्डलको नेतृत्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार ले गर्नुभएको थियो । टोलीमा सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्की, पूर्व स्ववियु सभापति तथा नेपाली कांग्रेस व्यास नगरपालिका सभापति सुर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले तथा क्याम्पसका इन्जिनियरिङ परामर्शदाताको उपस्थिति रहेको थियो ।


























