मगर संघको महासचिव दौडमा तनहुँका युवा नेता सिद्धान्त गर्जा मगर, अधिवेशन जेठ ८ गते हुँदै

मगर संघको महासचिव दौडमा तनहुँका युवा नेता सिद्धान्त गर्जा मगर, अधिवेशन जेठ ८ गते हुँदै


तनहुँ — नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन भोलि जेठ ८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा महासचिव पदका आकांक्षीहरूले आफ्नो अभियानलाई तीव्र बनाइरहेका बेला तनहुँका युवा नेता सिद्धान्त गर्जा मगर काठमाडौं केन्द्रित रणनीतिक भेटघाटमा सक्रिय बनेका छन्।
यसअघि नेपाल मगर संघ गण्डकी प्रदेश समितिको तेस्रो प्रदेश बैठकले सिद्धान्त गर्जा मगरलाई केन्द्रीय महासचिव पदका लागि सर्वसम्मत रूपमा अघि बढाउने निर्णय गरिसकेको थियो । गण्डकी प्रदेशले उनलाई “लिगेसी जोगाउने सक्षम नेतृत्व” भन्दै एकल उम्मेदवारका रूपमा अघि सारेपछि उनको अभियानले थप ऊर्जा पाएको बताइएको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा देश दौडाहामा रहेका सिद्धान्त पछिल्ला दिनहरूमा काठमाडौंमै बसेर विभिन्न जिल्ला प्रतिनिधि, मगर अगुवा तथा संघका नेताहरूसँग निरन्तर भेटघाट र छलफलमा जुटेका छन् । पछिल्लो भेटघाट र संवादले महासचिव पदको दौडमा उनको पक्षमा उत्साहजनक माहोल बनेको निकट स्रोतहरूको दाबी छ।
तनहुँबाट उदाएका युवा नेतृत्वका रूपमा चिनिएका सिद्धान्त मगर मगर समुदायको पहिचान, अधिकार र मगरात स्वायत्तताको मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । उनी नेपाल मगर संघ तनहुँका पूर्व अध्यक्ष, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन्।


महाधिवेशनमा महासचिवसहित विभिन्न पदमा प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला गण्डकी प्रदेशको एकीकृत समर्थन र देशव्यापी भेटघाट अभियानले सिद्धान्त गर्जा मगरलाई बलियो दाबेदारका रूपमा स्थापित गरेको चर्चा मगर वृत्तमा बढ्दो छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page