गजुरे स्वास्थ्य चौकीमा नयाँ ल्याब सेवा सञ्चालन
व्यास नगरपालिका–९ गजौडेस्थित गजुरे स्वास्थ्य चौकीमा स्थापना गरिएको नयाँ प्रयोगशाला (ल्याब) सेवाको उद्घाटन वडा नं. ९ का अध्यक्ष सुरेश थापाले गर्नुभएको छ।
नागरिकलाई स्थानीय तहमै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले व्यास नगरपालिकाले ल्याबका आवश्यक उपकरण तथा परीक्षण किट खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
ल्याब सेवा सञ्चालनमा आएपछि व्यास नगरपालिका–७, ९ र १० लगायत आसपासका क्षेत्रका नागरिकले आधारभूत प्रयोगशाला परीक्षणका लागि टाढा धाउनुपर्ने बाध्यता हटेको छ। अब स्थानीयवासीले आफ्नै स्वास्थ्य चौकीबाट छिटो, सहज र किफायती रूपमा सेवा लिन सक्नेछन्।

कार्यक्रममा वडा सदस्य सन्तोष जिसी , जनस्वास्थ्य निरीक्षक खुसिराम क्षेत्री, स्वास्थ्य प्रमुख सुनिल चन तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले स्वास्थ्य चौकीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउनुभएको थियो।




























